काठमाडौं:= गायक तथा अभिनेता जयनन्द लामाको बिहीबार अन्त्येष्टि गरिएको छ । लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसा र स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । ६६ वर्षको उमेरमा बुधबार बिहान घरमै गाडीबाट ओर्लने क्रममा उहाँको मृत्युभएको थियो ।
लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलिका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामाको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो ।
त्यस्तै, श्रद्धाञ्जलि दिन चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै कलाकारसँगै, शुभचिन्तक, सर्वसाधारण एवं बौद्ध धर्मगुरुहरू समेत नाचघर पुग्नुभएको थियो । नाचघरमा झण्डै तीन घण्टाको श्रद्धाञ्जलि कार्यक्रमपछि उहाँको शवलाई अन्त्येष्टिका लागि स्वयम्भू लगिएको थियो ।

जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना रहेको बताउनुभएको छ । आलेले भन्नुभएको छ, ‘देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।’
देशमा हाल भइरहेका विभिन्न विकृति र विसंगतीलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिनुभयो । उहाँले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गर्नुभयो ।

श्रृद्धाञ्जलि सभामा कलाकार कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, करिश्मा मानन्धर, विराज भट्ट, प्रकाश सपुतलगायत पुग्नुभएको थियो । लामाका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’ थुप्रै चर्चित लोकगीत दिएका लामाले ‘मनको बाँध’बाट चलचित्र अभिनय यात्रा थाल्नुभएको थियो ।
पछिल्ला वर्ष उनी ‘छक्का पञ्जा’, ‘जय भोले’, ‘दाल भात तरकारी’, ‘साङ्लो’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको थियो। टेलिसिरियल ‘हल्का रमाइलो’मा उहाँ नियमित देखिँदै आउनुभएको थियो ।




















