काठमाडौं:= नेपाली सिनेमा हलमा नेपाली चलचित्रका लागि दर्शकको भीड नदेखिएको दुई वर्ष बढी भयो । पछिल्लो दुई वर्ष कोरोना भाइरसको महामारीले गर्दा चलचित्र क्षेत्रलाई ठूलो असर पुर्यायो ।
निर्माण भएर बसेका चलचित्र प्रदर्शन हुन पाएनन् । कोरोना महामारी कम हुँदै जादा हल खुले पनि दर्शक आउने ढुक्क नभएपछि निर्माताहरूले करोडौं लगानी गरिएका चलचित्र प्रदर्शन गर्ने आँट गरेनन् । फलस्वरूप अहिलेसम्म प्रतिक्षित चलचित्र प्रदर्शन हुन सकेका थिएनन् ।
यसैबीच तीन वर्षअघि नै निर्माण भएर बसेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजबाट प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित यो चलचित्र कोरोना महामारीभन्दा अघि नै निर्माण भएको हो । दुई वर्षअघि नै प्रदर्शन हुनुपर्ने यो चलचित्रलाई कोरोनाले नराम्रोसँग असर पार्यो । प्रदर्शन मिति तोक्दै सार्दै गर्नुपरेको अवस्था धेरैपटक आयो ।
अन्ततः फागुन १३ गतेबाट प्रदर्शन गर्ने निर्णय गरेसँगै आजबाट देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार राति प्रिमियर शो को आयोजना गरियो । जहाँ नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकारको उपस्थिति थियो । लामो समयपछि नेपाली चलचित्र क्षेत्र चलायमान हुने देखिएपछि चलचित्रकर्मीमा पनि उत्साह छाएको छ ।
प्रतिक्षित चलचित्रहरू प्रदर्शन हुँदा दर्शकलाई हलसम्म आउनेमा चलचित्रकर्मी आशावादी छन् । ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा धेरै वर्षपछि धेरै कलाकारको उपस्थिति भएको हो । नेपाली चलचित्र क्षेत्र नै संकटमा परेको अवस्थामा चलचित्रकर्मीले नेपाली चलचित्रलाई माथि उठाउन साथ दिएको बुझ्न सकिन्छ ।
बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा दुई घण्टा १६ मिनेट लामो उक्त चलचित्र हेरेपछि निर्माण टिमको तारिफ गरिएको थियो । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरीलगायत कलाकारको मुख्य अभिनय छ ।
एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्र हेरिसकेपछि अभिनेत्री निरुता सिंहले चलचित्र हेर्नेक्रममा कैंयौं पटक आँशु खसेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले चलचित्रको गीतसंगीत, मेकिङ, कथावस्तु उत्कृष्ट रहेको बताउनुभयो ।
यस्तै नायक रमेश उप्रेतीले विषयवस्तु र मेकिङ निकै उत्कृष्ट भन्दै तारिफ गर्नुभयो । निर्देशक दीपाश्री निरौलाले पनि तारिफ गर्दै भन्नुभयो, ‘यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई नै चलायमान बनाउनेमा विश्वास छ । प्रेमकथामा सुदर्शन थापाले उत्कृष्ट चलचित्र बनाउनुभएको छ ।’
चलचित्र हेर्न पुग्नुभएका कलाकार दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज, एलिशा गौतम, सञ्जोग कोइरालालगायतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो । प्रिमियरमा कलाकारहरू नीर शाह, गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी, दमन रूपाखेती, पुष्प खड्कालगायत पनि पुग्नुभएको थियो ।
यस्तै निर्माता छवि ओझा, निर्देशक दीपेन्द्र के खनाल, गायक यम बराल, संगीतकार अर्जुन पोखरेल, गायिका मलिका कार्कीलगायत पनि चलचित्रको प्रिमियरमा पुग्नुभएको थियो ।
प्रिमियरमा चलचित्रका मुख्य नायक पल शाहको पनि उपस्थिति थिएन । एक गायिकाले तनहुँमा पलविरुद्ध उजुरी दर्ता गराएपछि पल नआएको हुनसक्ने अनुमान गरिएको थियो । निर्माण टिमले पनि नायक पल अहिले समस्यामा परेको भन्दै दोषी जो भए पनि कानुन बमोजिम सजाय हुनुपर्ने बताए ।
साथै चलचित्रका निर्देशक थापाले उनले आफूहरूले दर्शकमाझ एउटा उत्कृष्ट प्रेमकथा पस्किएको भन्दै अब यसलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी दर्शकमा भएको बताउनुभयो । अभिनेत्री पूजा शर्माले पनि चलचित्र रिलिजको समयमा विभिन्न खालका समस्या उत्पन्न भए पनि दर्शकले माया गर्नेमा विश्वास व्यक्त गर्नुभयो । चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन छ ।




















