एमसिसीविरुद्धको प्रदर्शनले दिनहुँ अस्तव्यस्त बन्दै बानेश्वर क्षेत्र, बिहीबार पनि बन्यो रणमैदान।

[ डिबी शर्मा ] 

काठमाडौं:= बानेश्वर त्यसै पनि काठमाडौंको चहलपहल हुने क्षेत्रमध्येकै एक हो । व्यापारिक र सर्वसाधारणहरूको आवत-जावतका हिसाबले पनि बानेश्वर धेरै व्यस्त हुने क्षेत्र हो । अधिकांश समय व्यस्त हुने बानेश्वर पछिल्लो केही समयदेखि अस्तव्यस्त छ । एक सातायता नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । संसद्मा एमसिसी पेश गरेसँगै सत्तारूढ दलकै कार्यकर्ताले बानेश्वरलाई तनावको केन्द्र बनाइरहेका छन् । नयाँ बानेश्वरको सडक एमसिसीको विरोधमा युद्धमैदान बनिरहेको छ ।

अमेरिकी सहयोग नियोग (एमसिसी)विरुद्ध दिनहुँ हुने आन्दोलनले बानेश्वरको रूप नै फेरिएको छ । बानेश्वर चोकदेखि गल्लीगल्ली दिनहुँ आन्दोलनकारी र प्रहरीको हुलले भरिन्छ । जिन्दावाद र मूर्दावादका कर्कस नाराले गुञ्जिन्छ । प्रहरी-प्रदर्शनकारीको घम्साघम्सीले तातिन्छ । लगत्तै पानीका फोहोरा र अश्रुग्यासले भरिन्छ । ढुंगामुढा र गोलीसम्म खेपेको छ बानेश्वरले ।

उसो त काठमाडौंको बानेश्वर मात्रै होइन माइतीघरलगायत देशका विभिन्न ठाउँ दिनहुँका विरोध प्रदर्शनले अस्तव्यस्त छन् । एमसिसीविरुद्ध दैनिक उर्लिने जुलुसले मानिसहरू आजित हुन थालेका छन् । उनीहरूको दैनिकी नै प्रभावित भएको छ । यातायात अस्तव्यस्त हुँदा यात्रुहरू गन्तव्यमा पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।

उग्र बन्दै प्रदर्शन, झडपमा तीनजना घाइते, एकको अवस्था गम्भीर

एमसिसी विरुद्धको प्रदर्शन दिनप्रतिदिन उग्र बन्दै गएको छ । प्रदर्शनकारी र प्रहरीबीचको घम्साघम्सी पनि बढ्दै गएको छ । बिहीबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा घम्साघम्सी भयो । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । बिहीबार नयाँ बानेश्वरमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा तीनजना घाइते भएका छन् ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा तीनजना घाइतेका हुन् । झडपमा एकजना पत्रकार पनि घाइते भएका छन् । घाइते एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजगको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार गरिएको छ । उहाँकोे टाउको र शरीरमा चोट लागेको छ । अर्का घाइते केदार शिवाकोटीको पनि एभरेष्ट अस्पतालमा नै उपचार गरिएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

बानेश्वरमा प्रहरीसँगको झडपका क्रममा गम्भीर घाइते उनलाई तत्काल बानेश्वरस्थित एभरेष्ट अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि ट्रमा सेन्टरमा रिफर गरिएको थियो । प्रहरीसँगको झडपका क्रममा डडेल्धुराका हेमराज अवस्थी गम्भीर घाइते हुनुभएको हो । उहाँको अवस्था सामान्य रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

मारमा व्यापारी, सर्वसाधारण आजित

दिनहुँका प्रदर्शनले माइतीघरदेखि नयाँ बानेश्वर सडकका पसल, बैंक, अस्पताल, होटललगायत दर्जनौँ व्यवसायहरू दिनभर ठप्प हुन्छन् । आन्दोलन सुरु हुनेबित्तिकै पसल तथा बैंकहरूको सटर बन्द गर्नुपर्ने बाध्यता छ । नियमित जस्तै बनेका प्रदर्शनले बानेश्वर मात्रै होइन मुलुकभरका व्यापारी आजित भएका छन् । उनीहरू कहिले प्रदर्शनकारी र प्रहरीको झडप सकिएला र पसल खोलौँला भन्ने आसमा बसिरहेका देखिन्छन् । केही व्यापारीहरू बोहनी नै नगरी घर जानुपरेको गुनासो गर्छन् । कहिलेसम्म सटर बन्द गर्नुपर्ने हो भन्ने चिन्ताले व्यापारीहरूलाई सताएको छ ।

प्रदर्शनको कारण बन्द व्यवसायको नोक्सान त छँदैछ प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले व्यवसायीको सवारीसाधन र पसलमा समेत क्षति पुग्न थालेको छ । आइतबारको प्रदर्शनमा प्रदर्शनकारीहरूले एक फेन्सी पसल तोडफोड गरेका थिए । आन्दोलनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गर्ने क्रममा तीनजना प्रहरी सटरभित्र लुकेपछि आन्दोलनकारीले पसल नै तोडफोड गरेका थिए । पसलेहरू मात्रै होइन सर्वसाधारणहरू पनि दिनहुँका प्रदर्शनले आजित छन् । विरोध प्रदर्शनका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्ने गरेको छ ।