काठमाडौं:= एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत अन्तिम चरणमा नेपालले जोर्डन र कुवेतको सामना गर्ने भएको छ । बिहीबार दिउँसो एएफसी मुख्यालय क्वालालम्पुरमा सम्पन्न अन्तिम चरणको ड्रअनुसार नेपाल समूह ‘ए’ मा परेको छ ।
ड्रअनुसार नेपाल समूह ‘ए’ मा जोर्डन, इन्डोनेसिया र कुवेत सँगै रहेका छन् । छनोटमा कुल २४ टोलीको सहभागिता रहनेछ । सहभागी ६ समूहका शीर्ष स्थानमा रहने टोली र पाँच उत्कृष्ट दोस्रो हुने टोलीले चीनमा हुने एएफसी एसियन कप खेल्नेछन् । छनोटका सबै खेल जून ८ देखि १४ सम्म हुनेछन् ।
यस्तै समूह ‘बी’ मा प्यालेस्टाइन, फिलिपिन्स, यमन, मंगोलिया, समूह ‘सी’ मा उज्वेकिस्तान, थाइल्यान्ड, माल्दिभ्स, श्रीलंका, समूह ‘डी’ मा भारत, हङकङ, अफगानिस्तान, कम्बोडिया, समूह ‘ई’ मा बहराइन, तुर्कमेनिस्तान, मलेसिया, बंगलादेश र समूह ‘एफ’ मा किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र सिंगापुर रहेका छन् ।
नेपाल एसियन कप छनोटको दोस्रो चरणमा समूहको चौथो स्थानमा रहेको थियो । अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ सम्मिलित समूहमा नेपालले दुई जित र ६ हारसहित ६ अंक जोडेको थियो । नेपालले दुवै खेलमा चाइनिज ताइपेइलाई पराजित गरेको थियो ।




















