काठमाडौं:= नेपाल आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपाल तेस्रो बनेको छ । ओमानको अलअमिरात क्रिकेट मैदानमा बिहीबार भएको छनोटको अन्तिम खेलमा ओमानमाथि ९ विकेटको सानदार जित हात पार्दै नेपाल तेस्रो बनेको हो ।
कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेलेपछि ओमानले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १६.२ ओभरमा १ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । ५३ बलमा उहाँले ३ चौका र २ छक्का प्रहार गर्नुभएको थियो ।
यस्तै आरिफ सेखले २१ रन जोड्नुभयो । २७ बलमा उहाँले एक चौका प्रहार गर्नुभएको थियो । त्यसबाहेक अर्का ओपनर आसिफ सेख १३ रनमा आउट हुनुभएको थियो । उहाँले १८ बलमा एक चौका प्रहार गर्नुभएको थियो । ओमानका जसिम मक्सुदले ३ ओभरमा १ विकेटबाहेक अन्यले विकेट हात पार्न सक्नुभएन ।
मंगलबार भएको सेमिफाइनल खेलमा हार बेहोरेपछि दुवै टोली तेस्रो स्थानका लागि भिडेका थिए । सेमिफाइनलमा पराजित भएपछि नेपाल र ओमान यस वर्ष अस्टे«लियामा हुने टी-२० विश्वकपमा पुग्न असफल भएका हुन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनमात्रै बनाउन सकेको थियो । ओमानका कप्तान जिसन मक्सुदले सर्वाधिक २१ रन बनाउनुभयो । २८ बलमा उहाँले ३ चौका प्रहार गर्नुभएको थियो । यस्तै आयान खानले १६ र कलिमुल्लाहले १४ बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सक्नुभएन । त्यसबाहेक ओमानका कश्यप प्रजापती ५, जतिन्दर सिंह २, सोयब खान र नास्तोर डाम्बा समान ३-३, मोहम्मद नादिम र सन्दीप गौड समान १-१ रनमा आउट हुनुभयो ।
नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिनुभयो । ४ ओभरमा उहाँले १३ रनमात्रै खर्चिनुभयो । यस्तै कमलसिंह ऐरी, आरिफ सेख, अविनाश बोहरा र सागर ढकालले समान १-१ विकेट लिनुभयो । विश्वकपमा छनोट हुने उद्देश्यसहित ओमान गएको नेपाली टोलीका लागि यो सान्त्वना जितमात्रै रहृयो । सोमबार भएको सेमिफाइनलमा युएईलाई पराजित गर्न सकेको खण्डमा नेपाल विश्वकपमा छनोट हुन्थ्यो । तर, ६८ रनले पराजित भएसँगै नेपालको विश्वकप पुग्ने सपना चकनाचुर भएको हो ।




















