मलेसियामा मृत्यु भएका १० जना नेपालीको मृत शव त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा पुग्दा!

काठमाडौं := त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सधैंजसो बुधबार पनि आउने जानेको बाक्लै चहलपहल थियो। अन्तर्राष्ट्रिय टर्मिनलको प्रवेशद्वारमा भित्रिनेहरु र पुर्‍याउन हिँडेका आफन्तहरु जसरी खुसी र पीडाको वियोगान्तमा देखिन्थे।

विदेशबाट फर्किने द्वारमा पनि उसैगरी खुसी र पीडाको वियोगान्तमा डुबेका आफन्तहरु कुरी बसेका थिए। वर्षौंपछि आफन्तको पर्खाइमा बसेकाहरु जति व्यग्र प्रतीक्षामा थिए, त्यही भीडमा एक समूह दुःखको भकारी बोकेर छट्टपटाइरहेका थिए। कारण थियो, उनीहरु आफन्तको शव कुरी बसेका थिए।

त्रिअबि भन्सार कार्यालयका अनुसार बुधबारमात्रै दश जनाको शव नेपाल ल्याइएको छ। ती सबै शवहरु मलेसियाबाट आएको भन्सार कार्यालयले जानकारी दिएको छ। शवका बाकसहरु बाहिर ल्याउँदै गर्दा विमानस्थलमा रुवाबासीले सन्नाटा छाएको थियो। उज्जवल भविष्यका लागि वैदेशिक रोजगारीमा गएका आफन्तहरु प्राण त्यागेर बाकसभित्र फर्किँदा कोसको मन नचुँडिएला? बुधबार विमानस्थलको दृश्य त्यस्तै थियो।

मलेसियामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका राजेन्द्र चौधरीको आफन्त शव बुझ्ने बेलामा विमानस्थलमा

गोरखाको गण्डकी गाउँपालिका साँगली चोकका टकबहादुर आफन्त अनिल चेपाङको शव बुझ्न विमानस्थल पुगेका थिए। उनका आफन्त अनिल एक दसकअघि मलेसिया उडेका थिए, सुन्दर भविष्यको कल्पना गर्दै। तर, दस वर्षपछि एक छोरा र श्रीमतीसँग सधैंका लागि टाँढिए।

डेढ महिनाअघि मलेसियामा हृदयघातका कारण ज्यान गुमाएका उनको शव आज मात्रै नेपाल आइपुग्यो। शव ल्याउन पनि आफन्तहरुले ठूलै सकस व्यहोर्न पर्‍यो। ‘डेढ महिनाअघि उहाँ (अनिल) हृदयघातका कारण ज्यान गुमाउन पर्‍यो।

कम्पनीबाट भागेर अन्तै काम गरेकाले न कुनै क्षतिपूर्ति पाउनुभयो। उल्टै शव ल्याउन परराष्ट्र मन्त्रालयलाई ठूलै हारगुहार गर्न पर्‍यो,’ टकबहादुरले भने। मलेसियास्थित नेपाली राजदूतावासको पहलमा डेढ महिनापछि शव नेपाल ल्याएको उनले बताए।

source :  अन्नपूर्ण पोस्ट दैनिक बाट सभार गरिएको हो ।
तस्बिरहरु : सरोज वैजु