काठमाडौं:= श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न छवटा कार्यदल तथा समिति गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न समिति तथा कार्यदल गठन गर्नुभएको हो ।
वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन, २०६४ मा समसामयिक सुधार एवं परिमार्जन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिन सरोकारवालासँग छलफल गरी कानुन र परराष्ट्र मन्त्रालयको राय लिई मन्त्रिपरिषद्मा पेश गर्नेछ ।
त्यस्तै श्रम प्रशासनको विद्यमान अवस्थाको अध्ययन तथा पुनरवलोकनका लागि श्रम ऐन, नियमावली संशोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकको संयोजकत्वमा पाँचसदस्यीय मस्यौदा कार्यदल गठन गरिएको छ भने श्रमिक सहकारी समूह गठन तथा परिचालनसम्बन्धी कार्यविधि बनाउन मन्त्रालयका श्रमसम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुखको संयोजकत्वमा छसदस्यीय कार्यदल गठन गरिएको छ । मन्त्रालयले श्रमिकहरूको सामाजिक सुरक्षा तथा सामाजिक संरक्षण सुनिश्चित गर्न श्रमिक तथा उनीहरूको परिवारको कल्याणका लागि श्रमिक सहकारी गठनको अवधारणा ल्याएको हो ।
त्यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिक परिवारका सदस्यलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने बिषयमा अध्ययन गर्न वैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरिएको छ । इजरायलको निर्माण क्षेत्रमा श्रमिक पठाउन संयुक्त कार्यसमूहमा प्रतिनिधित्वका लागि मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय वार्ताटोली गठन गरिएको छ ।
टोलीले निर्माण क्षेत्रमा माग गरिएको श्रमिक संख्या, न्यूनतम योग्यता, तालिम, छनोटको विधि, न्यूनतम पारिश्रमिकजस्ता विषयमा इजरायली टोलीसँग छलफल गर्नेछ । त्यस्तै दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा अध्ययन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरिएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले त्यहाँको ग्रामीण क्षेत्रमा तीनदेखि पाँच महिनाका लागि मौसमी कामदारका रूपमा विदेशी नागरिक लैजाने नयाँ नियम जारी गरेको थियो ।




















