वासिंटन:= अमेरिकाले रूसलाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । रूसले युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रूसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रूसको भूमिकाप्रति आपत्ति जनाएको छ ।
अमेरिकाले गरेको प्रतिबन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशले पनि समर्थन जनाउँदै आफ्नो देशहरूको तर्फबाट पनि प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । रूसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपेली मुलुकहरूले प्रतिबन्ध पनि थप गर्दै जाने चेतावनी दिएका छन् ।
उनीहरूले सूचना प्रविधिको सञ्जालबाट रूसलाई अलग्याउने, आर्थिक कारोबारको सञ्जालमा नराख्ने, रूसबाट ग्यास तथा इन्धन खरिद नगर्नेलगायत अभियान पनि ल्याउन सक्ने बताइएको छ । रूसको अर्थतन्त्रमा ग्यास तथा इन्धनको व्यापारको ठूलो भूमिका रहेकाले पश्चिमा तथा अमेरिकी देशहरूले रूसबाट ग्यास तथा इन्धन खरिद नगरेमा रूसको अर्थतन्त्रमा ठूलो झड्का लाग्न सक्छ ।
युक्रेन र रूस विवादका बीच नेटोले युक्रेनी राजदूतसँग आकस्मिक बैठक गर्ने निर्णय गरेको छ । यसैबीच रूसले भने पूर्वी युक्रेनमा सेना पठाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ । पश्चिमा देशका कतिपय नेताले रूसी सेनाले पूर्वी युक्रेनमा आक्रमण गर्न सुरु गरेको दाबी गरिरहँदा रूसको यस्तो भनाइ सार्वजनिक भएको हो ।
यता युक्रेन संकटबीच बेलायतले रूसलाई लिएर ठूलो निर्णय गरेको छ । बेलायतले रूसका पाँच बैंक र तीनजना धनाढ्यलाई प्रतिबन्ध लगाएको छ । यसैगरी जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेन संकटका बीच रूससँगको नर्ड स्ट्रिम–२ परियोजना बन्द गरेको घोषणा गर्नुभएको छ । यो परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रूसबाट उत्तरपूर्वी जर्मनीसम्म जाने दोस्रो प्राकृतिक ग्यास पाइपलाइन हो ।
जर्मनीको यो निर्णयसँगै रूसी सुरक्षापरिषद्का उपाध्यक्ष दिमित्री मेदमेदेभले साहसी (तपाईं)हरूलाई नौलो भविष्यका लागि स्वागत रहेको भन्दै व्यंग्य गर्नुभएको छ । जर्मनीको निर्णयपछि युरोपेलीहरूले चाँडै एक घनमिटर ग्यासका लागि दुई युरो तिर्नुपर्नेछ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही समयअघि युक्रेनले रूससँगका सबै सम्बन्ध भंग गर्नसक्ने घोषणा गर्नुभएको थियो । यसपछि रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनको बयान पनि बाहिर आएको छ । क्रेमलिनका प्रवक्ताले युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोड्नु राम्रो नहुने स्पष्ट पार्दै र यसले दुई देशबीचको अवस्था बिग्रन सक्ने चेतावनी दिनुभएको छ ।
यता चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उहाँहरूका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरूका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।
त्यस क्रममा उहाँहरूका बीचमा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको अवस्थाका बारेमा कुराकानी भएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कुराकानीका क्रममा अमेरिकाले रूसले युक्रेनमाथि आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका त्यसको विरुद्धमा रहेको बारेमा आफ्नो धारणा राख्नुभएको बताइएको छ ।




















