रुसका राष्ट्रपति पुटिनद्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा, डोनेट्स्क क्षेत्रमा विस्फोट।

एजेन्सी := रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गर्नुभएको छ । डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटको आवाज समेत सुनिएको छ।

विस्फोटको थप विवरण आउन बाँकी छ । रुस–युक्रेन तनावबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपति पुटिनले टेलिभिजन सम्बोधनमार्फत पछिल्लो घोषणा गर्नुभएको हो । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति पुटिनले कुनै जवाफ नदिएको प्रतिक्रिया दिनुभएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झण्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको समेत बताउनुभएको छ । उहाँले यो आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने चिन्ता व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह समेत गर्नुभएको छ ।

यता युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ । ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन्। तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ ।