वैदेशिक रोजगार: सात महिनाको अवधिमा साढे ३ लाख बढी नेपालीले लिए श्रम स्वीकृति।

काठमाडौं:= कोरोना माहामारीका कारण धेरै समय ठप्प भएको वैदेशिक रोजगारमा जानेको संख्यामा पछिल्लो समय क्रमिक रूपमा वृद्धि हुँदै गएको छ । जसले गर्दा गत सात महिनाको अवधिमा श्रम स्वीकृति लिने नेपालीको संख्या साढे तीन लाख नाघेको छ । वैदेशिक रोजगार कार्यालय (ताहाचल)का कार्यालय प्रमुख रमेश अर्यालका अनुसार चालु आर्थिक वर्ष (साउनदेखि माघसम्म)मा श्रम स्वीकृति लिने (महिला/पुरुष)को संख्या तीन लाख ५१ हजार ५०७ रहेको छ ।

प्रमुख अर्यालका अनुसार गत साउनमा २३ हजार ८०१ पुरुष र १६ सय २७ महिला गरी कुल २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिए भने भदौमा ३३ हजार ३३२ पुरुष र २७ सय नौ महिला गरी ३६ हजार ४१ जनाले श्रम स्वीकृति लिएका छन् । गत असोजमा ३५ हजार ७३३ पुरुष र ३९ सय ३८ महिला गरी कुल ३९ हजार ६७१ जनाले श्रम स्वीकृति लिए भने कात्तिकमा ४८ हजार ४४० पुरुष र ६४ सय ७८ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिए ।

मंसिरमा कुल ७४ हजार ३५४ जनामा पुरुष ६७ हजार ३११ र महिला सात हजार ४३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, गत पुसमा श्रम स्वीकृति लिनेको संख्या कुल ६६ हजार ६२५ रहेको छ, जसमा पुरुष ५९ हजार ७७८ र महिला ६७ सय ४७ जना रहेका छन् भने माघमा ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन्, जसमा पुरुष ४८ हजार १२१ र महिला ६३ हजार ४९ जना रहेका छन् ।

वैदेशिक रोजगारको माथिको तथ्यांक हेर्दा गत ६ महिनाको अवधिमा मंसिर र पुसमा श्रम स्वीकृति लिनेको संख्या बढी रहेको छ । कार्यालय प्रमुख अर्यालका अनुसार प्राय प्रत्येक वर्षको दशैँ र तिहार लगत्तैका दुई महिनामा विदेशिनेको संख्या बढी हुन्छ, जसले गर्दा यसवर्ष श्रम स्वीकृति लिनेको संख्या मंसिर र पुसमा बढी भएको हो । उहाँ भन्नुहुन्छ, ‘यस वर्ष मंसिर र पुसमा श्रम स्वीकृति लिनेको संख्या बढ्नुको कारण दसैँ तिहारले गर्दा हो । धेरै जना दशैँ÷तिहार मनाउन विदेशबाट घर आउने हुनाले दशैँ/तिहारलगत्तै विदेशिनेको संख्या अति बढी हुन्छ । यो ट्रेन प्राय वर्षहरूमा हुने गर्छ ।’

प्रायः नेपाली श्रमिकहरू वैदेशिक रोजगारीको लागि खाडी मुलुक जाने गर्छन् । यस आर्थिक वर्षको सात महिनामा साउदी अरेबिया जानेको संख्या सबैभन्दा बढी रहेको प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार धरैजसो साउदी अरेबिया, कतार, युएई, बहराइन, ओमान जानेको संख्या बढी छ । त्यस्तै, माथिको कुल संख्यामध्ये सबैभन्दा बढी अर्थात् दुई तिहाइभन्दा बढीले साउदी र कतारको श्रम स्वीकृति लिएको अर्यालले बताउनुभयो ।

ताहाचलस्थित रोजगार कार्यालयमा प्रायःश्रम स्वीकृति लिनेको संख्या नगन्य हुने गर्छ । तर, कोरोनाका कारण केही समय भौतिक उपस्थितिलाई समेत समिति बनाइएको थियो भने पुनः श्रम स्वीकृतिको लागि अनलाइनको व्यवस्था गरिएको थियो । नयाँ श्रम स्वीकृति लिनेहरूले बायोमेट्रिकको लागि स्वयं कार्यालय उपस्थित हुनैपर्ने हुन्छ, जसका लागि कार्यालयले एकदेखि दुई दिनभित्रमा नयाँ श्रम स्वीकृति दिने गरेको प्रमुख अर्याल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘नयाँ श्रम स्वीकृति लिन दुई दिनसम्मको समय लाग्ने गरेको छ, त्योभन्दा बढी त लाग्दैन । तर, डकुमेन्टहरू सबै सही र पूरा छ भने नयाँले उसैदिन (एक दिनमै) श्रम स्वीकृति पाएको अवस्था पनि छ ।’ उहाँका अनुसार हाल पुनः श्रम स्वीकृति (अनलाइनबाट) लिनेको संख्या भने दैनिक रूपमा नौ सयदेखि ११ सय जना रहेका छन् ।