नेप्सेलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन माग।

काठमाडौं:= नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले नयाँ स्टक एक्सचेञ्जको आवश्यक रहेको बताउनुभएको छ । मंगलबार सेयर लगानीकर्ता तथा मर्चेन्ट बैंकर्ससँग धितोपत्र बजार व्यवस्थापनसम्बन्धी सुझाव संकलन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्रक्रियागत झन्झटले पनि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

नेप्सेले गर्ने ८० प्रतिशत काम प्रविधिगतरूपमा हुने भएकाले पनि केही सामान खरिद गर्नुपर्दा टेन्डरमा जानुपर्ने अवस्थाले झन् बढी समस्या बढेको उहाँको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका पुँजी बजार फोरमका सभापति तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले कार्कीलाई भिजन बनाउनेदेखि नेप्सेको सेयर स्वामित्व संरचना परिवर्तन गर्नेसम्मको सुझाव दिनुभयो । नेप्से इन्डेक्स क्याल्कुलेसन विधि परिवर्तन गर्नुपर्ने, नेप्सेको पुँजी वृद्धि र सेयर स्वामित्व संरचना परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले विभिन्न लगानीकर्ता तथा मर्चेन्ट बैंकर्सले हल्लाको भरमा चलिरहेको बजारलाई व्यवस्थित बनाउन नेप्सेले भूमिका खेल्नुपर्ने र राजनीति हस्तक्षेपबाट नेप्सेलाई मुक्त गर्नुपर्ने बताउनुभयो । नेप्सेमा सरकारको स्वामित्व बढी भएकै कारण सरकारको हस्तक्षेप भइरहेको उहाँहरूको भनाइ थियो । हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चयकोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व छ ।