महाशिवरात्रि मेलामा १० लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान।

सवा करोड खर्च लाग्ने, १० हजार सुरक्षाकर्मी तैनाथ गरिने

[ डिबी शर्मा ] 

काठमाडौं:= यस वर्षको महाशिवरात्रिमा करिब १० लाखले पशुपतिनाथमा दर्शन गर्ने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा करिब १० लाखले पशुपति दर्शन गर्ने अनुमान रहेको जनाएको हो ।

महाशिवरात्रि पर्व २०७८ को तयारीका विषयमा पशुपति क्षेत्र विकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिमा करिब सवा करोड खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

महाशिवरात्रिमा सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुने उहाँले जानकारी दिनुभयो । ‘यस वर्षको महाशिवरात्रिमा करिब १० लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सवा करोड खर्च लाग्ने अनुमान छ । सुरक्षा व्यवस्थाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुनेछन् ।’

उहाँका अनुसार महाशिवरात्रिमा गाँजालगायत लागूपदार्थलाई विशेष कडाइ गरिनेछ । महाशिवरात्रि पर्वका दिन मदिरामुक्त क्षेत्र बनाउनका लागि विशेष निगरानी र कडाइ गरिने पनि उहाँले बताउनुभयो । महाशिवरात्रिमा नेपालका विभिन्न क्षेत्रसहित छिमेकी मुलुक भारतबाटसमेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

यस वर्षको महाशिवरात्रि पर्व फागुन १७ गते मंगलबार परेको छ। महाशिवरात्रि हिन्दूको एक विशेष पर्व हो । हिन्दू क्यालेण्डरअनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्रि मनाइन्छ । शिवरात्रिमा श्रद्धालुहरू रातभर जागा रहेर भगवान् शिवको आराधना गर्छन् भने भजन कीर्तनसमेत गर्छन् ।

महिलाका लागि शिवरात्रिको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगलकामना गर्छन् । धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान् शंकर ब्रह्माबाट रुद्रको रूपमा अवतरण हुनुभएको थियो ।

पर्यटनमन्त्री आलेको नेतृत्वमा २५१ सदस्यीय मूल समारोह समिति गठन

शवदाह, किरियापुत्री क्षेत्र सञ्चालनमा कुनै बाधा पुग्दैन : कोष

पर्वलाई सफलतापूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिसँगै विभिन्न १० वटा उपसमितिसमेत गठन भएको सदस्य सचिव थापाले बताउनुभयो ।

शिवरात्रिका दिन दर्शनार्थीलाई सहजताका लागि डिजिटल बत्तीको व्यवस्था गरिने तथा मन्दिर क्षेत्रमा आउने साधु, सन्तहरूको भोजन र आवासका लागि कोष सचेत रहेको उहाँको भनाइ छ । महाशिवरात्रिमा विद्युतीय शवदाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै बाधा नपुग्ने कोषले जनाएको छ ।

पशुपतिप्रति गिद्दे दृष्टि लगाउनेकोे कहिल्यै कल्याण हुनेवाला छैन : मन्त्री आले 

पशुपति क्षेत्र विकास कोषको अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्रि पर्व विगतका वर्षहरूभन्दा भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । महाशिवरात्रि पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभयो ।

धर्मावलम्बीहरूलाई सहज रूपमा पानीको, बत्तीको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिनुभयो । ‘शिवरात्रि पहिलेभन्दा भव्य र सभ्य मनाउने गरी यसपालिको तयारी भइराखेको छ । आग्रह गर्न चाहन्छु, कुनै पनि कसर बाँकी नराख्नुहोस्,’ मन्त्री आलेले भन्नुभयो, ‘धर्मावलम्बीहरू आउँदाखेरि पानीको व्यवस्था होस् । ट्वाइलेटको सरसफाइ होस् । जहाँबाट भक्तजनहरू पूजा आराधनाका लागि आउनुहुन्छ, उहाँहरूलाई हरेक ठाउँमा लाइटिङको व्यवस्था होस् ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिट्टै फिर्ता ल्याउने बताउनुभयो । अदालतले समेत बाटो खोलिदिएकाले अब छिट्टै धर्मशाला फिर्ता ल्याउने बताउनुभयो । मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अब त्यस्तो काम हुन नदिने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले पशुपतिप्रति गिद्दे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताउनुभयो । ‘विगतको प्रतिनिधिले बेच्ने कामहरू गरेका छन् । त्यो कतिपनि सहृय हुनेवाला छैन,’ उहाँले भन्नुभयो, ‘जसले पशुपतिप्रति गिद्दे दृष्टि लगाउँछ, त्यसको कहिल्यै पनि कल्याण हुनेवाला छैन ।’

भित्तामा भगवान् शिव पार्वतीका चित्र

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरूप भित्तामा भगवान्का चित्र बनाउन थालिएको छ । पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्र बनाइएको हो । भगवान्का चित्रसँगै रङरोगनको काम पनि भइरहेको छ ।

महाशिवरात्रि पर्व व्यवस्थापनका लागि तीव्र गतिमा तयारीका काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका सदस्य सचिव डा. थापाले पशुपति क्षेत्रमा यस वर्ष बिजुली बत्ती र फूलमालाले विशेष रूपमा सजाएर आकर्षक बनाउन लागिएको बताउनुभयो । भित्तामा बनाइने देवीदेवताका चित्र पनि भक्तजनको आकर्षक केन्द्रका रहने उहाँको भनाइ थियो ।