सेयर बजारमा सुधार।

काठमाडौं:= गत सातादेखि घट्दोक्रममा रहेको र यो साताको पहिलो दिन पनि उच्च अंकले घटेको सेयर बजार सोमबार भने २५ अंकले बढेको छ । नेप्से परिसूचक २५.४१ अंक बढेर २७१८.५१ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स ५.१५ अंक, फ्लोट इन्डेक्स १.७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४७ अंकले बढेको  छ ।

कारोबारमा आएका दुई सय २४ कम्पनीका ४९ लाख ९२ हजार कित्ता सेयर दुई अर्ब ९९ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन १३ वटै समूहको परिसूचक बढेकामा जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २.२४ प्रतिशत बढेको छ ।

त्यस्तै वित्त, होटल तथा पर्यटन, लगानी र अन्य समूहको परिसूचक एक प्रतिशतभन्दा बढीले बढेको छ । कारोबारमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  १० कम्पनीमध्ये सातवटा जलविद्युत् कम्पनी रहेका छन् । युनाइटेड इदीमर्दी, आरबी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको ९.६५ प्रतिशतले बढेको छ । नेपाल टेलिकमको २६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने जीवन विकास लघुवित्त दोस्रो स्थानमा रहेको छ ।

यसैबीच नेप्सेले सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्न विवरण माग गरेको छ । एक सूचना जारी गर्दै नेप्सेले तीन–तीन महिनामा सूचीकृत कम्पनीको वर्गीकरण गर्दै आएकामा दोस्रो त्रैमासिक वर्गीकरणका लागि विवरण माग गरेको हो । सूचीकृत कम्पनीहरूले नेप्सेले उपलब्ध गराएको फारमको ढाँचामा फागुन २३ गतेभित्र विवरण बुझाइसक्नुपर्नेछ ।