बलिउड अभिनेता फरहान अख्तरले अभिनेत्री शिवानी डन्डेकरसंग गरे बिहे।

एजेन्सी मुम्बई := बलिउड अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी डन्डेकरले बिहे गर्नुभएको छ । केही वर्षयता प्रेम सम्बन्धमा रहेको यो जोडीले गएको शनिबार भारत, खन्डालामा रहेको अख्तर परिवारको फार्म हाउसमा भएको हो । फरहान र शिवानी करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

फरहान–शिवानीको बिहेमा ऋतिक रोशन, अमृता अरोरा, अनुषा डन्डेकर, रिया चक्रवर्ती लगायत कलाकारको उपस्थिति थियो । शिवानी अभिनयबाहेक गायन, मोडलिङ र उद्घोषणमा सक्रिय हुनुहुन्छ । फरहानले सन् २०१६ मा सेलेब्रेटी हेयरस्टाइलिष्ट अधुना भवानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध टुंग्याउनु भएको थियो । उहाहरूका दुई छोरी छन् ।

कामको कुरा गर्दा फरहान ‘जी ले जरा’ निर्देशन गर्ने तयारीमा हुनुहुन्छ । । सन् २०११ मा ‘डन २’ चलचित्रको निर्देशनपछि फरहान अब जी ले जरा चलचित्रबाट निर्देशकका रूपमा फर्किन लाग्नुभएको हो ।

यो चलचित्रमा प्रियंका चोपडा, कटरिना कैफ र आलिया भट्टको मुख्य भूमिका हुनेछ । पोस्टरमा प्रियंका, आलिया र कटरिनाको नामसँगै भारतका विभिन्न ठाँउको चित्रबाट बनेको गाडी देख्न सकिन्छ । यसले पुरानो चर्चित चलचित्र ‘दिल चाहता है’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्तै झलक दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।