काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले सत्ताधारी गठबन्धनले नै कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएको दाबी गर्नुभयो । धेरै खर्च लगाएर बनाइएका सडक उनीहरूले भत्काएको भन्दै उहाँले प्रदर्शनकारीको गतिविधिप्रति असन्तुष्टि जनाउनुभयो । त्यसक्रममा उहाँले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारूढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाउनुभयो ।
गठबन्धन दलहरूलाई लक्षित गर्दै उहाँले ‘सरकारमा भएका क्रान्तिकारी’का कार्यकर्ताले सडक भत्काएको र ढुंगा हानेको आरोप लगाउनुभएको हो । साथै सरकारमा भएका दलहरूले एमसिसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा पनि विरोध गर्ने भन्दै दोहोरो चरित्र देखाएको उहाँको आरोप थियो । गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले भन्नुभयोे, ‘संसद्मा एमसिसी लान दिएर सडकमा ढुंगा हान्न लगाए । तर, यस्तोमा हामी अलमलिनु हुँदैन, एमसिसी पास गर्न षड्यन्त्र गर्ने अनि आफू मूर्तिझैँ संसद्मा बस्ने, यताकोलाई उठउठ भन्ने, उताकोलाई उफ्र भन्ने’, ओलीले भन्नुभयो, ‘एकथरिलाई सदनमा उफ्रिन आऊ, अर्काथरिलाई सडकमा ढुंगा हान्न जाऊ भन्ने । एमसिसी संसद्मा आफैंँ सही गरेर लैजाने अनि सही गर्नेहरूले नै सडकमा मान्छे उतार्ने ।’
उहाँले सत्ताधारी दलकै कारण आइतबार प्रहरी पिटिएको पनि बताउनुभयो, ‘प्रहरी किन त्यसरी पिटिए ? प्रहरीको टाउको गोलैसरी हो, ढुंगा हान्दिए हुन्छ भन्दा रहेछन्’, ओलीले भन्नुभयो, ‘बालुवाटारदेखि संसद् र सडकसम्म दोहोरो चरित्र देखाउनेहरूको चरित्र पनि हेरियो ।’ उहाँले आइतबार नयाँ बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेको बताउनुभएको थियो ।
‘गृहमन्त्रीलाई मैले फोन गरेर भनेँ, तपाईँ किन पुलिस सडकमा पठाउनुहुन्छ ? सत्ताधारीले नै मान्छेलाई ढुंगा हान्न पठाएका छन् । कति खर्चमा बनाएका बाटाहरू सरकारमा हुने क्रान्तिकारीहरूले भत्काइरहेका छन् । बाटो बनाउनुपर्ने ठाउँमा बजेट काट्ने र भत्काउने काम भएको छ’, उहाँले भन्नुभयो, ‘कोही छैन यो देशमा नभत्काऊ भन्ने ? प्रहरी छ तर सत्तारूढ दलकै कार्यकर्ताको कुटाइ खाएर भागेको छ ।’
ओलीले सत्ताधारीका २५÷२५ जना मान्छेले ढुंगा हानेर डेढ सयजना पुलिसलाई ढाल देखाउँदै भाग्न बाध्य पारेको पनि बताउनुभयो । ‘सडकमा केही पनि नगर्नु भनेर आदेश दिँदै एकथरिले प्रहरी पठाउँछ । अनि सरकारमै भएको अर्काथरिले तिनै प्रहरीमाथि आक्रमण गर्छ’, उहाँले भन्नुभयोे, ‘गृहमन्त्रीलाई सोधेँ, इँटा र ढुंगा हान्ने मात्रै आदेश थियो ?’, ओलीले भन्नुभयो, ‘एमसिसी पास गर्न आफैँ सही गर्ने, टेबल गर्ने अनि सडकमा खुब क्रान्तिकारी भएर कार्यकर्ता उतार्ने ? प्रहरी हिजो किन त्यसरी पिटिए । प्रहरीको टाउको गोलैसरी हो र ढुंगा हान्दिए भइजाने ?’ साथै प्रहरीमाथि प्रदर्शनकारीको एकोहोरो प्रहार भएको भन्दै त्यसप्रति ओलीले आपत्ति जनाउनुभएको थियो ।




















