त्रिभुवन विश्वविद्यालयमा तालामाथि ताला, शैक्षिक गतिविधि अस्तव्यस्त।

जिम्मेवार निकाय मौन बस्दा पछिल्लो दुई वर्षयता करिब दुई सय दिन भइसक्यो तालाबन्दी

[ डिबी शर्मा ] 

काठमाडौं:= त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी भएको लामो समय भयो । गत माघ ६ गतेदेखि विद्यार्थी संगठनले इकाइ समितिको नामबाट र गत हप्तादेखि आंशिक शिक्षकका नाममा गरिएको तालाबन्दी कायमै छ । त्रिविको उपकुलपति कार्यालय, रेक्टर कार्यालयमा कहिले विद्यार्थी त कहिले प्राध्यापकले तालाबन्दी गर्ने गरेका छन् । त्रिविले माग सुनुवाइ नगर्दा आन्दोलन गर्न बाध्य भएको विद्यार्थीहरूको गुनासो छ ।

त्रिविको शैक्षिक क्यालेण्डर निश्चित नभएको, परीक्षाको नतिजा समयमा प्रकाशन नभएको र त्रिविको गुणस्तर खस्कँदै गएको उनीहरूको आरोप छ । त्रिविका आंशिक प्राध्यापकहरू समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै आन्दोलित छन् । तालाबन्दी मात्रै होइन पदाधिकारीका कुर्सी जलाउने, तोडफोड गर्ने र शिक्षकमाथि कुटपिट गर्नेसम्मका अनैतिक कार्य त्रिविमा हुने गरेका छन् ।

विभिन्न विद्यार्थी र प्राध्यापक संघसंगठनका नाममा गरिएका तालाबन्दीले त्रिवि अस्तव्यस्त बनेको छ । त्रिभुवन विश्वविद्यालयका भौतिक र शैक्षिक कार्यक्रम विभिन्न नाममा हुने आन्दोलनले प्रभावित छ । अहिले नेविसंघ, अनेरास्ववियु, आंशिक प्राध्यापक, सिएका विद्यार्थीको तालामाथि ताला छ । त्रिविको उपकुलपति, रेक्टर कार्यालयमा लगाइएको तालाका कारण विश्वविद्यालयको प्रशासनिक गतिविधि लगभग ठप्प छ । पदाधिकारीलगायत कर्मचारी कार्यालय आउने, हाजिर गरेर फर्कने र बस्ने गरेका छन् । नीतिगत निर्णयहरूमा कठिनाइ भएको छ भने दैनिक कार्य सञ्चालनमा समेत बाधा पुगेको छ ।

उच्च शिक्षाका ८० प्रतिशतभन्दा बढी विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयमा पछिल्लो दुई वर्षयता करिब दुई सय दिन तालाबन्दी भएको छ । विद्यार्थी र प्राध्यापकका विभिन्न संगठनले गरेको तालाबन्दीका कारण दैनिक कामकाज मात्र ठप्प नभएर विश्वविद्यालयको दीर्घकालीन लक्ष्य र योजना नै अलपत्र बन्न पुगेको छ । वर्षभरिमा करिब साढे दुई सय दिन विश्वविद्यालयको प्रशासनिक कामकाज सञ्चालन हुनेमा २०७६ कात्तिकयता करिब दुई सय दिन विभिन्न कारण तालाबन्दी भएको छ ।

तालाबन्दीबाट समस्या समाधान हुँदैन : शिक्षाविद्

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीले शिक्षामाथि आक्रमण भइरहेको शिक्षाविद्हरूले बताएका छन् । देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको उनीहरूले बताएका हुन् । ताला लगाएर कुनै पनि समस्या समाधान नहुने भन्दै पदाधिकारी र विद्यार्थीहरूले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने उनीहरूको भनाइ छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व–उपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिविको समस्या तालाबन्दीबाट समाधान नहुने बताउनुभयो ।

प्राध्यापक राजकुमार पोखरेलले ताला लगाएर कुनै पनि समस्या समाधान नहुने बताउनुभयो । पदाधिकारी र विद्यार्थीहरूले छलफल र संवादबाट नै समस्याको समाधान खोज्नुपर्ने पोखरेलले बताउनुभयो । प्राध्यापक पोखरेलले कुनै पनि देशलाई बिगार्न सबैभन्दा पहिला देशको शिक्षामा आक्रमण हुने गरेको र अहिलेको परिवेशमा नेपालमा शिक्षामाथि नै आक्रमण भइरहेको बताउनुभयो ।

प्राध्यापक डम्बर चेम्जोङले नेपाली समाजमा विश्वविद्यालय र उच्च शिक्षाको बारेमा ऐतिहासिक र राजनीतिक बुझाइको अभाव रहेको बताउनुभयो । देश संघीयतामा गएको भने पनि भागबण्डामा केन्द्रित हुँदा शिक्षामा समस्या थपिएको उहाँको भनाइ छ ।

अपराधीहरूलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या : प्रा. चलाउने

प्राध्यापक प्रेमबहादुर चलाउनेले विद्यार्थीहरूको तालाबन्दी सरुवा, बढुवा र नियुक्तिसँग हुने गरेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय र प्राध्यापकहरूले अपराधीहरूलाई अपराधीकै तरिकाबाट उपचार नगर्दा समस्या आइरहेको बताउनुभयो । प्राध्यापक चलाउनेले आफूमाथि गत वर्ष भएको आक्रमण विश्वविद्यालयका विद्यार्थीहरूबाट नभई पैसा दिएर किनेका गुण्डाहरूबाट भएको दाबी गर्नुभयो ।

‘जसले ताला लगाउँछ उसको सरुवा, नियुक्ति बढुवासँग कनेक्सन जोडिएर आउँछ । अपराधीलाई अपराधीकै तरिकाबाट उपचार गर्न नसकेको कारण प्राध्यापक, विश्वविद्यालयहरूले दुःख पाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘मेरो दृष्टिकोणमा उनीहरू विद्यार्थी होइनन् ।’