गठबन्धनप्रति ओलीको आक्रोश: सरकारकै कारण नेपाल ठूला शक्ति राष्ट्रहरूको खेल मैदान बन्ने भो।

काठमाडौं := नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनका कारण ठूला शक्ति राष्ट्रहरू नेपाललाई खेलमैदान बनाउन उत्रिन थालेको टिप्पणी गर्नुभएको छ । भक्तपुरस्थित सूर्यविनायक नगर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)सँगको सहायता सम्झौताको सन्दर्भमा चीन र अमेरिकाको पछिल्लो अभिव्यक्तितर्फ संकेत गर्दै ओलीले शक्ति राष्ट्रहरू नेपाललाई खेलमैदान बनाउन उत्रिन थालेको टिप्पणी गर्नुभएको हो । ‘पाँच वर्षअघि एमसिसी सम्झौता गरे, अहिले सरकारमा भएकाले नै त्यसलाई ठगी खाने भाँडोको रूपमा प्रयोग गरे,’ ओलीले भन्नुभयो, ‘एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौं भन्ने, अहिले पर सार्दै सार्दै अन्तर्राष्टिय सम्बन्ध, विदेश सम्बन्धलाई तहसनहस पारेका छन् ।’

एमसिसीका सन्दर्भमा संसद्ले नै निर्णय लिनुपर्छ भन्ने एमालेको धारणा रहेको ओलीले सुनाउनुभयो । एमालेको धारणा एमसिसी संसद्मा पेश गर्दिऊँ, त्यसले नै निर्णय गर्छ भन्ने रहे पनि अहिलेको गठबन्धनले त्यो काम गर्न नसकेको बताउनुभयो । ‘निर्णय गर्ने ठाउँमा पु¥याऊँ भन्दा मानेनन्, अहिलेसम्म पुर्‍याउन सकेका छैनन् । संसद्मा नपुराउने, बाहिर उफ्रिने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सम्बन्धको स्थिति के छ ? ठूला ठूला शक्ति राष्ट्र नेपाललाई खेलमैदान बनाउने गरी उत्रिन थालिसकेका छन् । अहिलेको सरकार यो कुराबाट सजग देखिँदैन ।’ अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग र साझेदारको स्थिति खतरामा पर्दै गएकाले नेपाल अप्ठ्यारो स्थितिमा पुगेको पनि ओलीले दाबी गर्नुभयो ।