ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो।

ब्राजिल/एएनआई:= दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या बढेर १३० पुगेको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको संख्या झण्डै दोब्बर भएर दुई सयभन्दा बढी पुगेको बताएको छ ।

मंगलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घर ध्वस्त भएका थिए । शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य ‘युद्ध दृश्य’ जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्दारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिनुभएको थियो ।

अग्निनियन्त्रकले विपद्को चार दिनपछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् । यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्दार प्रयासहरू सुस्त छ ।

ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपत्कालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ ।