म्यानपावरको लुटधन्दा भने रोकिएन, कानुन कमजोर हुँदा बढ्यो मनोबल
[ रिता बस्नेत ]
काठमाडौं := वैदेशिक रोजगार विभागको गेटभित्र छिर्नासाथ लाइनै फलामका कुर्सीहरू राखिएका छन्, जहाँ वैदेशिक रोजगारीबाट पीडित, पीडकलगायत सम्बन्धित जो कोही बसिराखेका हुन्छन् । कार्यालय खुलेदेखि बन्द नहुँदासम्म कोही निवेदन लेखाउन, कोही हत्कडीसहितका पीडक आदि त्यहाँ बस्नेको कमी हुँदैन । शुक्रबार मध्यान्हको समयमा सोही कुर्सीमा बसिराख्नु भएका पोखराका राम शाही (नाम परिवर्तन) गालामा हात राखेर निन्याउरो अनुहार लगाएर टोलाइराख्नु भएको थियो । सो दृश्यलाई मध्यनजर गर्दै हिमालय टाइम्सका प्रतिनिधिले आफू स्वयं पीडितझैँ बनेर शाहीसँग कुराकानी गर्ने जमर्को गर्नुभयो । त्यसपछि भने शाहीले वैदेशिक रोजगारीको नाममा पैसा फसेको र विभागमा निवेदन दिएकाले बुझ्न आएको कुराकानी खुलेर सुनाउन थाल्नुभयो ।
शाहीका अनुसार कोरोना संक्रमण फैलिनुभन्दा अगाडि तीनकुनेस्थित एक म्यानपावरले साउदी अरेबिया उडाउँछु भनेर शाहीसँग दुई लाख लिएको रहेछ । तर, पैसा बुझाएको दुई वर्ष बितिसक्दासमेत आजसम्म म्यानपावरले न विदेश नै उडायो, न त पैसा नै फिर्ता दियो । सो म्यानपावरको एजेन्टलाई शाहीसँगै एकैपटक पाँच/छ जना युवा (महिला÷पुरुष)हरूले साउदीको एक कम्पनीबाट आएको डिमाण्डको लागि पैसा बुझाएका रहेछन् । एजेन्टबाट ठगिएपछि पछिल्लो समय शाही पैसा फिर्ता पाइने आशामा आफूसँगै पीडित बनेका अन्य साथीहरूलाई छाडेर एक्लै सम्बन्धित निकायलगायत ठाउँमा धाउन थाल्नुभएको रहेछ । उहाँ भन्नुहुन्छ, ‘हामी चार–पाँच जना साथीहरूको पैसा एउटै एजेन्टले लिएको हो । अहिले म ती साथीहरूसँग हिँड्दिनँ । किनभने धेरै साथीहरू भयो भने धेरै पैसा हुन्छ र उसले दिनै सक्दैन । धेरैजनाको पैसा दिनुपर्ने भएकाले त्यो मान्छे भागेको हो । मेरो पैसा पनि अन्त फसेको छ, एकजनालाई पैसा दिनेबित्तिकै उसले सबै साथीहरूलाई बोलाइहाल्छ, अनि मलाई गाह्रो पर्छ भनेर भन्दै थियो रे, एजेन्टका केटाहरूले मलाई सुनाएका ।’
एजेन्टलाई त सम्बन्धित म्यानपावरले खोज्नुपर्ने होइन र ?, भन्ने जिज्ञासामा शाही भन्नुहुन्छ, ‘ऊ हुन त म्यानपावरकै मान्छे हो तर एजेन्ट भएकाले गाह्रो भयो । हाम्रा सबै डकुमेन्ट डुब्लिकेट बनाएको रहेछ । उसले महिला, पुरुष दुवै कोटामा साउदीमा मार्केटिङको भिसा भएको देखाएको थियो तर हामी पाँच÷६ जनाको भने नक्कली भिसा बनाएको रहेछ । उताबाट आएको डिमाण्डमा अरू मान्छेलाई पठाएर हामीलाई झुक्याएछ । टिकट दिएपछि हामी उड्ने तयारीमा थियौँ । उसले दिएको सबै कागजपत्रसँगै टिकट बोकेर तीन÷चारजना बहिनी र म ट्राभल गयौँ, कहाँबाट टिकट काटेको रहेछ भनेर हेर्न । अनि मात्र थाहा भयो त्यो टिकट डुब्लिकेट भएको, फ्लाइट केही पनि थिएन र त्यतिबेलासम्म एजेन्ट पनि भागिसकेको थियो । उसले बनाएको डुब्लिकेट डकुमेन्ट सबै अहिले मसँग सुरक्षित छ ।’
ठगिइसकेपछि शाही एक्लै एजेन्टको खोजीमा लागिपरेपछि दुईपटकको जम्काभेटमा वैदेशिक रोजगारीको नाममा एजेन्टले पैसा लिएको दिगो प्रमाणसहितको कागजपत्र बनाउन सफल हुनुभएछ । र, एजेन्टले पैसा फिर्ता गर्छु भनेको मितिसम्म पनि पैसा नदिएपछि शाहीले बाध्य भएर स–प्रमाणसहित विभागमा उजुरी दर्ता गराउनुभएको रहेछ । शाहीका अनुसार अहिले एजेन्टले पैसा फिर्ता दिन्छु भनेर बनाएको प्रमाणको भाका र विभागमा उजुरी दिएको समय एक वर्ष पुगिसकेको छ । तर, शाहीले न्याय पाउनुभएको छैन ।
कुराकानीका क्रममा आक्रोशित मुद्रामा शाही भन्नुहुन्छ, ‘पैसा उठाउन कहाँ जाने, कसरी पैसा उठाउन सकिन्छ भन्ने सबै थाहा छ, तर मैले नियम कानुनबाटै उठाऊँ भनेर मात्रै यहाँ (विभाग) आएको हो । बिना कानुन उठाउन पनि सक्छु । जसरी पनि मेरो पैसा छाड्नेवाला छैन । त्यो मान्छेलाई पैसा कसरी ल्याएर दिएँ, यहाँ कसरी आएँ, त्यो त मलाई मात्रै थाहा छ ।’ उहाँ अगाडि थप्नुहुन्छ, ‘एजेन्ट काभ्रेको हो, त्यसलाई खोज्दै काभ्रेसम्म पुगँे । गाउँमा उसको आमालाई भेटेर आएको । उसको आमाले छोराको कारोबार हो बाबु, म बूढीमान्छे केही थाहा छैन भन्नुभयो । मलाई पनि आफ्नो आमा जस्तो लाग्यो, केही बोल्न पनि सकिनँ । उसको गाउँको वडाध्यक्षदेखि सबैले मलाई मुद्दा लडेर फैसला भएपछि आउनुस्, त्यसपछि तपाईंले यहीँको जग्गा लिए पनि हुन्छ केही फरक पर्नेवाला छैन भनेर सल्लाह दिनुभएको छ ।’
हाल ललितपुरमा सानोतिनो काम गरेर भाडाको कोठामा बस्दै आएको बताउनुहुने शाही अझै पनि काठमाडौंको धेरै ठाउँमा कोठा सर्दै बस्ने गरेका एजेन्टको खोजीमा लागिपरेको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एउटा झ्याउ काम भनेको, विभागले मान्छे (पीडक) आफैँ खोजेर ल्याउनु भन्दोरहेछ । मैले नम्बर पत्ता लगाएर दिन्छु, उसले परिवर्तन गरिहाल्छ, त्यसले गर्दा विभागले पक्रिनै सकेको छैन । एकपटक लोकेसन भेट्टाएर पुलिसलाई लिएर गएको, कोठा सरिसकेको रहेछ । त्यसले कोठा सारेको सा¥यै गरेकाले गाह्रो भयो । मोबाइल पनि कहिले खोल्छ, कहिले खोल्दैन, १२–१५ वटा सिम फेरिसक्यो । एउटा सिम नम्बर पत्ता लगाएपछि विभागमा ल्याएर दिन्छु, अनि यहाँबाट समात्न भनेर पुलिस गएपछि उसले अर्को फेरिहाल्छ ।’
कुराकानीका क्रममा विभागमा पीडित आउने क्रमलाई औँल्याउँदै शाही अगाडि भन्नुहुन्छ, ‘यहाँ (विभाग) पीडित कति हो कति । मैले निवेदन दिनेताका त पाइला हाल्ने ठाउँ थिएन, लाइन लागेर उजुरी लेखाएका थिएँ । कहिलेकाहीँ यो कुर्सी (आफू बसेको कुर्सीलाई औँल्याउँदै)मा हत्कडी लगाएर एजेन्टहरू बसेको देख्दा भने मज्जा लाग्छ, अस्ति भर्खरै त्यसरी बसेका एकजना एजेन्टलाई देखेर आक्रोशित भएर यसलाई मार्नुपर्छ भनेर म त सुरिएको थिएँ नि ।’
विभागलाई पीडकको फोन नम्बर उपलब्ध गराउँदासमेत एक वर्षसम्म पनि तपाईंलाई न्याय दिन सकेको रहेछन त ?, भन्ने प्रश्नमा शाही भन्नुहुन्छ, ‘सरकारी काम हो, ढिलो त भइहाल्छ । मेरो पैसा उठ्ने प्रमाण सबै पेश गरेको छु । बकाइदा नेपाली कागजमा यति पैसा वैदेशिक रोजगारीको लागि लिएको भन्ने प्रमाण नै विभागमा बुझाएको छु । त्यो व्यक्ति(एजेन्ट) एक ठाउँमा पनि नबस्ने र मोबाइल नम्बर पनि परिवर्तन गरिराख्ने भयो, १५ दिनमा पनि कोठा सारेको भेटियो । उसको परिवर्तन गरेको नम्बर यहाँ दिँदा, त्यो नम्बर विभागले टेलिकममा बुझाउँदा र त्यहाँबाट लोकेसन हेर्दाहेर्दै त्यसले अर्को नम्बर परिवर्तन गरिसकेको हुन्छ । अनि भेट्नै गाह्रो हुन्छ ।’
पीडक एजेन्टले विभिन्न साथीहरूको नागरिकताबाट सिम निकाल्ने गरेको सुनाउँदै शाही भन्नुहुन्छ, ‘त्यस्तो फटाहाले आफ्नो नामबाट सिम लिँदै लिँदैन । साथीहरूलाई झुक्याएर मेरो नागरिकता छैन भनेर सिम निकाली जान्छन् । विभागले तीनवटा सिम निकालिदिएका व्यक्तिलाई ल्याएर सोधिसक्यो, उनीहरूले कागज छैन निकालिदेन भनेकाले निकालिदिएको हो, अरू त थाहा भएन सर भनेका थिए ।’
विभागका एक कर्मचारी बाहिर जानुभएकाले एकछिन कुरेर बसेको भन्दै शाही फेरि सुनाउनुहुन्छ, ‘यहाँ (विभाग)को सर बाहिर चिया खान निस्किनुभएको छ, उहाँलाई मेरो सबै थाहा छ, चिन्नु पनि हुन्छ, त्यही भएर पर्खिराखेको हो । अदालतमा मुद्दा हाल्नुपर्छ भनिराख्नु भएको छ, उहाँले के सल्लाह दिनुहुन्छ । अब अलिक दिन हेरेर मुद्दा प्रक्रियामा जान्छुहोला ।’ अन्ततः फसेको पैसा उठाएर कोरोना संक्रमण साम्य भएपछि विदेश जाने सोच राख्नुभएका शाही पैसा भने जसरी पनि उठाएरै छोड्ने बताउनुहुन्छ ।
विभागमा पर्ने पीडितको उजुरी सम्बन्धमा निवेदन लेखिदिन सहयोग गरिदिने, पीडितलाई सल्लाह, सुझाव दिनेलगायत कार्य गर्दै आएको पिपुल फोरम (मानव अधिकारका लागि जनमञ्च)का परियोजना संयोजक सुदीप देवकोटाका अनुसार विशेष गरी वैदेशिक रोजगारीको नाममा पैसा लिएर विदेश पठाएन भन्ने उजुरी अत्यधिक हुने गर्छ । पिपुल फोरममा आजभोलि दैनिक रूपमा बढीमा २० र घटीमा दुईजना जतिको केस हेर्ने गरेको देवकोटा बताउनुहुन्छ । त्यस्तै, एउटा काम भनेर श्रम गरी विदेश पठाउने र उता पुगेपछि अर्कै काममा लगाउने, भने अनुसारको तलब नदिनेलगायत घटना धेरै हुने गरेको उहाँले सुनाउनुभयो । देवकोटाका अनुसार पिपुल फोरमको तथ्यांकमा मात्रै अघिल्लो ६ महिना (गत साउनदेखि पुस मसान्तसम्म)मा कुल ११ सय २५ जना वैदेशिक रोजगार पीडितलाई सेवा दिइएको छ । जसमा रकम लिएर विदेश नपठाएको, पासपोर्ट जफत गरेर फिर्ता नगरेको र विदेश पनि नउडाएको, विदेशमा मृत्यु भएको र अंगभंग भएकाको उद्धार नभएको, भनेको भन्दा कम तलब दिएको, तलबै नदिएको आदि रहेका छन् । एजेन्टहरू एकदमै ध्रुत भएकाले कतिपय प्रहरीहरूसमेत वैदेशिक रोजगारीको नाममा लाखौं ठगिएका घटना भएको देवकोटा सुनाउनुहुन्छ । उहाँका अनुसार धेरैजसो पीडितहरू एजेन्टबाट ठगिएका छन् ।




















