ब्युनस आयर्स:= भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । विपद्का कारण ५४ घर ध्वस्त भएका छन् ।
जी–१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ । सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन् । बाढीमा फँसेका मानिसहरूको खोजी र उद्दार कार्य तीव्र पारिएको छ ।
ब्राजिलमा मंगलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको हो । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढी पीडितहरूलाई सहयोग गर्न निर्देशन दिनुभएको छ ।
समाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरूमा बाढीले ठूलो क्षति पुर्याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ । ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भन्नुभयो । बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उहाँले बताउनुभयो । बाढीमा फसेका व्यक्तिको उद्दारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ ।




















