कोलकत्ता:= वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन खेलको शृंखलामा भारतले १-० को अग्रता बनाएको छ । १५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो ।
घरेलु टोली भारतका लागि सूर्यकुमार यादव १८ बलमा ५ चौका र १ छक्कासहित ३४, वेंकटेश ऐर १३ बलमा २ चौका र १ छक्कासहित २४, कप्तान रोहित शर्मा १९ बलमा ४ चौका र ३ छक्कासहित ४० र इशान किशनले ४२ बलमा ४ चौकासहित ३५ रन जोड्नुभएको थियो । वेस्ट इन्डिजका स्पिनर रोस्टन चेसले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो ।
त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । वेस्ट इन्डिजका पुरनले ४३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिनुभयो । त्यसबाहेक काइल मेयर्सले २४ बलमा ७ चौकासहित ३१ रन थप्नुभयो ।
कप्तान काइरन पोलार्ड १९ बलमा २ चौका र १ छक्कासहित २४ रनमा नटआउट रहनुभयो । भारतका लेग स्पिनर रवि विश्रोईले ४ ओभरमा १७ रन खर्चेर २ तथा हर्षल पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिनुभयो । भुवनेश्वर कुमार, दीपक चाहर र युजभेन्द्र चहलले १-१ विकेट लिनुभयो । यी दुई टोलीबीचको अर्को खेल शुक्रबार हुनेछ ।




















