भैरहवा:= गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने जहाज भैरहवा आइपुगेको छ । एरो थाईको विमान बिहीबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । थाइल्याण्डबाट सिधै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । आज (शुक्रबार)बाट क्यालिब्रेसन उडानको तयारी छ ।
विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले शुक्रबारदेखि परीक्षण उडान हुने जानकारी गराउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि क्यालिब्रेसन फ्लाइट हुन लागेको हो ।
विमानस्थल निर्माण आयोजनाअन्तर्गत आइसिबी जिरो २ का प्रमुख इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्य सम्पन्न भइसकेपश्चात् क्यालिब्रेसन फ्लाइट गर्न लागिएको बताउनुभयो । उहाँले करिब ७ देखि १० दिनसम्म एरो थाईको विमानले क्यालिब्रेसन फ्लाइटको काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उडानका क्रममा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको छ ।’ विमानस्थलमा जडान गरिएका उपकरण काम गर्न तयारी अवस्थामा छन् वा छैनन् भन्नेबारे प्रष्ट हुन परीक्षण गर्न लागिएको हो ।
क्यालिब्रेसन फ्लाइट हुने भएपछि अन्य नियमित उडान भने नियमित समयभन्दा केही ढिला हुने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताउनुभयो । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ। अब एनएभी, एआइडिएसलगायत विभिन्न प्रविधि जडानको काम हुने बताइएको छ ।
१० दिनसम्म क्यालिब्रेसन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिनेछ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । खासगरी नयाँ विमानस्थल बनेपछि उडान रुटहरू निर्धारण गर्न, सञ्चार उपकरणको परीक्षण गर्न यस्तो उडान अनिवार्य गरिएको हुन्छ ।
यहाँ जडान भएका उपकरण काठमाडौं विमानस्थलमा जडान भएका भन्दा अत्याधुनिक छन् । अर्कोतर्फ खासगरी वैदेशिक रोजगारीमा जाने नेपाली र बुद्धिष्ट मुलुकका पर्यटक आकर्षित गर्ने गरी यो विमानस्थलको व्यावसायिक प्रचार–प्रसार गरिने भएको छ । जसले गर्दा वायुसेवा कम्पनीलाई यस विमानस्थलमा आकर्षित गर्न सहज हुनेछ ।
नेपालमा ७० वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाइ तीन हजार मिटर र चौडाइ ६० मिटर रहेको छ ।




















