मुम्बई:= तमिल सुपरस्टार रजनीकान्तको चलचित्रले नेपालमा पनि थुप्रै दर्शक कमाएको छ । अहिलेसम्म नेपाली सिनेमा हलमा प्रदर्शन नभएपनि युट्युबलगायत प्लेटफर्ममार्फत रजनीकान्तका चलचित्र खुबै हेर्ने गरिन्छ । सम्रगमा तमिलमा निर्माण भएका र हिन्दीमा डबिङ गरिएका चलचित्र नेपालमा खुवै हेर्ने गरिन्छ ।
केही समयअघिमात्र रजनीकान्तले निर्देशक नेल्सन दिलीप कुमारसँग नयाँ चलचित्रमा सहकार्य गर्ने घोषणा गर्नुभएको थियो । चलचित्रको नाम हालसम्म ‘थलाइवार १६९’ राखिएको छ । गत फेब्रुवरीमा निर्माताले एक भिडियो सार्वजनिक गर्दै प्रोजेक्टको बारेमा जानकारी दिनुभएको थियो । भिडियोमा रजनीकान्तका अलावा निर्देशक दिलीप र संगीतकार अनिरुद्ध रविचन्दर पनि देखिनुभएको थियो । संगीतकार अनिरुद्ध हालका दिनमा चलचित्रको गीत कम्पोज गरिरहनु भएको छ ।
निर्माताले रजनीकान्तको यो चलचित्रको बाँकी कलाकारलाई लिएर हालसम्म विस्तृत जानकारी दिन चाहेको छैन । तर स्रोतका अनुसार रजनीकान्तसँग अभिनेत्री ऐश्वर्या राय बच्चनले पुनः एकपटक रोमान्स गर्ने बताइएको छ । निर्माताले अभिनेत्री ऐश्वर्यालाई अभिनयको प्रस्ताव गर्नुभएको । ऐश्वर्याले निर्माताको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बुझिएको छ । रजनीकान्त र ऐश्वर्याले सन् २०१० मा रिलिज चलचित्र ‘रोबोटमा एकसाथ काम गर्नुभएको थियो र दर्शकले निकै रुचाएका पनि थिए ।




















