अष्ट्रेलिया जान प्रमोट गर्दै युवास्टार अनमोल केसी।

काठमाडौं:= कुनै पनि संघसंस्थाले आफ्नो बस्तु तथा सेवाको प्रचार गर्न कलाकारहरूलाई आफ्नो ब्राण्डसँग जोडेर कुनै समायावधिसम्म निश्चिम रकम तिरेका हुन्छन् । ‘पपुलर फेस’ले ब्राण्डको विषयमा बोलिदिँदा सजिलै विश्वास जित्न सकिने भएकाले पनि ब्राण्डहरूले कलाकार तथा समाजमा मन जितेर लोकप्रिय बनेका यक्तित्वलाई लिने गर्दछ ।

नेपालमा अत्यधिक ब्राण्डहरूसँग जोडिएर ब्राण्डको प्रमोट गर्ने काममा लोकप्रिय हास्य अभिनेता महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य), अभिनेता राजेश हमाल पनि पर्नुहुन्छ । कलाकारले ब्राण्डसँग जोडिँदा उक्त ब्राण्डले ल्याएका बस्तु तथा सेवा कस्तो किसिमको हो भनेर बुझ्नु भने जरुरी हुन्छ ।

यसैबीच पछिल्लो समयका नेपाली चलचित्रमा अत्यधिक ‘फ्लोअर्स’ कमाउनु भएका युवास्टार अनमोल केसी पनि विभिन्न ब्राण्डमा जोडिने क्रममा अहिले नयाँ संस्थासँग जोडिनुभएको छ। अनमोल अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरूलाई पठाउँदै आइरहेको संस्था एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेससँग जोडिनु भएको हो ।

यस संस्थासँग जोडिएर अनमोलले अब अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई ‘एम्पाएर’ नै ठीक भनेर सही सूचना दिनुपर्नेछ । यस्तै उक्त संस्थाले आयोजना गर्ने विभिन्न सचेतनामूलक शैक्षिक इभेन्टमा सहभागी हुनुपर्नेछ ।

एक वर्षका लागि अनुबन्धित हुनुभएका अनमोलले फोटोशुट र टिभिसी (टेलिभिजन कमर्सियल)को काम सकाउनुभयो । उहाँले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सही सूचना पुर्‍याउनुपर्नेछ । अनमोलले एम्पाएरका लागि फोटोशुटसँगै केही दिनअगाडि मात्र टिभिसी शुट गरिसक्नुभएको छ । उहाँको टिभिसीलाई शैक्षिक शैलीमा तयार गरिएको सञ्चारकर्मी तथा निर्देशक कुवेर डंगोलले बताउनु भएको छ ।

केही समयअगाडि डंगोलसँगै फोटोशुट सम्पन्न गर्नु भएका अनमोलले टिभिसीको काम पनि सकाउनुभएको हो । ‘हामीले टिभिएडका लागि २५ सेकेण्ड लम्बाइ रहेको भिडियो तयार पारेका छौं । यहाँ अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि छोटो संदेश छोडिएको छ’, निर्देशक डंगोलले भन्नुभयो ।

टिभिसीमा अनमोललाई क्याजुअल लुक्समै सरल तरिकाले प्रस्तुत गरिएको छ । एम्पाएरले विद्यार्थीलाई दिँदै आएको सेवालाई ध्यानमा राख्दै टिभिसी तयार गरिएको निर्देशक डंगोलले जनाउनुभयो । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभिसीमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर रहेको छ ।

यस्तै अनमोलले आफ्नो फ्लोअर्समार्फत विद्यार्थी माझ सही जानकारी पुर्‍याउने उद्देश्यका साथ एम्पाएरको ब्राण्ड एम्बेसडर बन्न तयार भएको बताउनुभएको छ । पछिल्लो पुस्तामा सबैभन्दा महँगा र डिमाण्ड नायक अनमोलले उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया जाने विद्यार्थीलाई एम्पाएरसँग जोडिएको जानकारी शेयर गर्नुहुनेछ ।