काठमाडौं:= प्य्रांकष्टर युट्युबर आकाश सेढाइँलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले उहाँलाई प्य्रांकको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा प्रक्राउ गरेको हो।
झापा विर्तामोडका सेढाइँले आठवर्ष अघिदेखि प्रांक भिडियो बनाउँदै आउनुभएको थियो । तर, गृह मन्त्रालयले गत माघ १३ गते विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा प्य्रांक भिडियो नबनाउन भनेको थियो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद, द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्र्यांक भिडियो नबनाउन’ चेतावनी दिइएको थियो।
यसकै आधारमा साइबर ब्युरोले प्य्रांकष्टर सेढाइँलाई पक्राउ गरेको हो । तर, सेढाइँले गृह मन्त्रालयको विज्ञप्तिपछि आफ्नो युट्युब च्यानल ‘नेपाली प्य्रांकष्टर्स’मा कुनै पनि प्य्रांक भिडियो बनाएर अपलोड गर्नुभएको छैन । उहाँको अन्तिम भिडियो तीन साताअघि अर्थात् माघ ८ गते अपलोड भएको छ । प्रहरीले उहाँलाई पुरानै भिडियोको आधारमा पक्राउ गरेको बुझिएको छ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार पक्राउ परेका सेढाइँलाई जिल्ला अदालत काठमाडौंबाट सात दिन थुनामा राख्न अनुमति प्राप्त भएको छ । सेढाइँ पक्राउसँगै प्रहरीले पुरानो भिडियोका आधारमा पक्राउ गर्न मिल्ने/नमिल्ने सामाजिक सञ्जालमा बहस सुरु भएको छ।




















