विश्वकप क्रिकेट छनोट खेलको लागि नेपाली खेलाडी टोली घोषणा।

काठमाडौं:= आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटका लागि नेपालले आफ्नो अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको छ । ओमानमा शुक्रबारदेखि सुरु हुने ग्लोबल छनोटका लागि नेपाली प्रशिक्षक पुबुदु दसानायकेले टोली घोषणा गर्नुभएको हो । चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्नका लागि १७ सदस्यीय नेपाली टोली यसअघि नै ओमान पुगेको थियो । सोमबार सकिएको चारदेशीय शृंखलाबाट प्रशिक्षक पुबुदु दसानायकेले १४ सदस्यीय टोली घोषणा गर्नुभएको हो ।

टोलीबाट अलराउन्डर कुशल मल्ल, ओपनर प्रदीप ऐरी र स्पिनर साहब आलमलाई बाहिर राखिएको छ । यस्तै ढाडको समस्याका कारण तीव्र गतिका बलर करण केसी टोलीबाट बाहिरिनुभएको छ । करणको स्थानमा तीव्र गतिका बलर गुलशन झालाई नेपाली टोलीमा समेटिएको छ । उहाँको भिसा प्रक्रिया जारी रहेको र एक–दुई दिनमै ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान) सहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा रहनुभएको छ ।

अफिसियलहरूमा मुख्य प्रशिक्षक दसानायकेसहित टिम व्यवस्थापकमा सुमनराज कार्की, फिजियो-विक्रम न्यौपाने, बलिङ प्रशिक्षक धम्मिका प्रसाद, टेक्निकल एनालिस्टमा रमण शिवाकोटी रहनुभएको छ । छनोटमा नेपालले फागुन ६ गते घरेलु टोली ओमानविरुद्ध खेल्नेछ । यस्तै फागुन ७ गते फिलिपिन्स र फागुन ९ गते क्यानडाविरुद्ध खेल्नेछ । आठ टोली समावेश छनोटको फाइनलमा पुग्ने दुई टोली यसै वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

छनोटको तयारीका लागि नेपालले ओमान, आयरल्यान्ड र युएई सम्मिलित चारदेशीय शृंखला खेलेको थियो । जसमा नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हरायो । त्यसपछि भने युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो।