काठमाडौं:= ११ औं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुनेभएको छ । एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते काठमाडौंमा ११औं संस्करणको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ हुने भएको हो ।
आयोजकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण प्रत्यक्ष सहभागिता सम्भव नहुने भएपछि भर्चुअल प्रविधिमार्फत मेलाको आयोजना गर्ने जनाएको छ । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले मेलामा नेपालसहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट सहभागिताका लागि निश्चित भइसकेको बताउनुभयो ।
उहाँका अनुसार यसपटक सांस्कृतिक मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिगापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबेले सहभागिता जनाउँदै छन् ।
अध्यक्ष कोइरालाले प्रथम अन्तर्राष्ट्रिय लोक सांंस्कृतिक अहिलेसम्म आइपुग्दा करिब ५५ भन्दा बढी देशका पाँच हजार ५ सयभन्दा बढी कलाकारहरूले आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको दाबी गर्नुभएको छ ।




















