काठमाडौं:= बुधबार प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल हुने चर्चाबीच बानेश्वर आसपासको सुरक्षा व्यवस्था बिहानैदखि कडा पारिएको थियो । बाक्लो संख्यामा प्रहरी परिचालित थिए । प्रहरीको कडा सुरक्षाबीच नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन एमसिसीविरुद्ध विरोध प्रदर्शन गर्न सडकमा निस्किए ।
बुधबार बिहानै माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू नारा-जुलुससहित नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अगाडि बढेका थिए । उनीहरूसँगै एमसिसीको विरोधमा नेमकिपासहित अन्य केही संगठन पनि सामेल थिए । बबरमहलतिरबाट उनीहरू बानेश्वरतिर अगाडि बढे । प्रदर्शनकारीहरू बानेश्वरनजिक पुगेपछि तनाव सुरु भयो । एमसिसी र सरकारविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शनकारी अघि बढे ।
उनीहरू अघि बढ्दै जाँदा प्रहरीले बल प्रयोग गर्न थाल्यो । प्रहरी र प्रदर्शनकारी आमने–सामने भएपछि बानेश्वर क्षेत्र बिहान ११ बजेदेखि मध्यान्नसम्म तनावग्रस्त बन्यो । संसद् भवनको गेटअगाडिसम्म उनीहरूले नाराबाजी गरे । उनीहरूको प्रदर्शनकैबीच एमसिसी संसद्मा टेबल नहुने खबर आयो । तर, प्रदर्शन रोकिनुको सट्टा झन् उग्र बन्दै गयो ।
एमसिसीका विषयमा सत्ता गठबन्धनमै आबद्ध दलहरू तीनतिर छन् । कांग्रेस पक्षमा छ भने माओवादी र नेकपा एस यथास्थितिमा अनुमोदन गर्न नहुने पक्षमा । उनीहरूले बुधबार सडक प्रदर्शन नै गरे । गठबन्धनमै आबद्ध राष्ट्रिय जनमोर्चा भने एमसिसी खारेजीको पक्षमा आन्दोलनरत छ ।

रणमैदान बन्यो बानेश्वर क्षेत्र
प्रदर्शनकारी र प्रहरी आमने-सामने हुँदा नयाँ बानेश्वर क्षेत्र बुधबार रणमैदान जस्तै बन्यो । प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरे । प्रहरीले पनि बल प्रयोग ग¥यो । माइतीघरबाट बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढेको प्रदर्शनकारीको भिडलाई प्रहरीले संसद् भवन नपुग्दै एभरेष्ट होटलनजिक रोक्यो । प्रदर्शनकारीहरूले निषेधित क्षेत्रसमेत तोडेर संसद् भवन भएको क्षेत्रमा प्रवेश गर्न खोजेपछि दोहोरो झडप भएको हो ।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यासदेखि पानीका फोहोरासम्म प्रहार गर्यो । झडपका क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भए । केही प्रहरीसमेत घाइते भएको प्रहरीको भनाइ छ । संघीय संसद् भवनको दक्षिण गेटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शन गर्नेहरूलाई प्रहरीले सडकमै लछारपछार गरेको थियो । विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल परेको थियो ।
प्रदर्शनमा उत्रिएका सयौँ प्रदर्शनकारी पक्राउ
एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका सयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका एक सय बढीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंको नयाँ बानेश्वर, माइतीघरलगायत स्थानबाट उनीहरूलाई पक्राउ गरिएको थियो ।
सरकारले संघीय संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । माइतीघरदेखि नारा जुलुससहित संघीय संसद् भवनतर्फ आएका प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद् भवनभन्दा २०० मिटर पश्चिम एभरेष्ट होटलनजिक रोकेको थियो । तर, उनीहरूले निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ आउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
एमसिसीको पक्षमा काउण्टर र्याली, ‘वेलकम एमसिसी’ लेखिएका ब्यानरसहित प्रदर्शन
एमसिसीको विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा बुधबार ¥याली निकालिएको थियो । स्वतन्त्र नागरिक समाजको आयोजनामा एमसिसीको पक्षमा मोटरसाइकल र्याली निकालिएको हो । अनामनगरबाट सुरु भएको मोटरसाइकल र्यालीले माइतीघर मण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो । र्यालीमा एमसिसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।
विप्लव नेकपासहित पाँच दलको बन्द, प्रभाव सामान्य, जनजीवन प्रभावित
पाँच दलीय मोर्चाले बुधबार गरेको नेपाल बन्दको देशभर समान्य प्रभाव परेको छ । एमसिसीको विरोधमा बुधबार पाँच दल र एक मोर्चाले संयुक्त रूपमा गरेको नेपाल बन्दको मुलुकभर सामान्य प्रभाव परेको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका सडकमा निजीदेखि सार्वजनिक सवारी चलेका थिए ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका थिए । बन्दको प्रभाव समान्य रहे पनि अधिकांश विद्यालयहरू बन्दरहे भने लामो दूरीका सवारी साधनसमेत नियमित चलेनन् । जसकारण सर्वसाधारणले सास्ती खेप्नुप¥यो । नेपाल बन्दको आह्वान गरेका उनीहरूले ठाउँठाउँमा प्रदर्शनसमेत गरेको थिए । बन्द गराउँदै हिँडेको केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । तस्बिर : नवराज श्रेष्ठ/हिटा




















