काठमाडौं:= स्थानीय निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता आहृवान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
आयोगमा १०६ वटा दल दर्ता भएका छन् । दर्ता भएका दलहरूले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनुपर्ने हुन्छ।
त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनुपर्ने हुन्छ । आयोगमा दलले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेश गर्नुपर्ने हुन्छ । आव २०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले आव ०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरणसमेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।
आव ०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आव २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन पेश गर्दा अलग–अलग रहेका दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ ।
यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्टा अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीनवटा निर्वाचन चिन्ह प्राथमिकता क्रमअनुसार उल्लेख गर्नुपर्ने हुन्छ ।




















