इंग्लिस प्रिमियर लिग फुटबलमा फाविन्होको गोलमा लिभरपुलको जित।

एजेन्सी लन्डन:= लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा रेलिगेसन क्षेत्रमा रहेको बर्नलेलाई १–० गोलअन्तरले पराजित गरेको छ । लिभरपुलका लागि एकमात्रै गोल फाविन्होले गर्नुभयो । उहाँले पहिलो हाफको ४०औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो ।

एलेक्सान्डर आर्नाेल्डको कर्नरमा फाविन्होले गोल गर्नुभएको हो । जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानेचस्टर सिटीसँगको अंक दूरी नौमा छोट्याएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ५४ अंक पुगेको छ । एक खेल बढी खेलेको सिटीको ६३ अंक छ । पराजित बर्नले २१ खेलबाट १४ अंक जोडेर पुछारमा रहेको छ ।

अर्काे खेलमा टोटनहम हटस्पर घरेलु मैदानमा वल्भ्ससँग २-० ले स्तब्ध बनेको छ । वल्भ्सका राहुल जिमिनेज र लिएन्डर डेन्डनकरले गोल गर्नुभयो । टोटनहमले लगातार दोस्रो हार बेहोरेको हो । यसअघि टोटनहम घरेलु मैदानमै साउथ हृयाम्टनसँग ३-२ ले पराजित भएको थियो ।

यो जितसँगै वल्भ्स २३ खेलबाट ३७ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ । पराजित टोटनहम २२ खेलबाट ३६ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।