एजेन्सी रोम:= एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मिलानले साम्पडोरियालाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो । आइतबार राति भएको खेलमा मिलानको जितमा राफयल लियोले एकमात्रै निर्णायक गोल गर्नुभयो । उहाँले खेलको आठौँ मिनेटमा गोलरक्षक मिक मेइगननको लामो पासलाई नियन्त्रणमा लिँदै गोल गर्नुभएको थियो ।
यो जितसँगै मिलानले एक खेल कम खेलेको इन्टर मिलान र समान खेल खेलेको नेपोलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लन सफल भएको हो । शीर्ष स्थानमा उक्लिएको मिलानको २५ खेलबाट ५५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टरको ५४ अंक रहेको छ । नेपोलीको ५३ अंक छ ।
यता शीर्ष स्थानको दौडमा रहेका एटलान्टा र युभेन्ट्सले १-१ को बराबरी खेलेका छन् । एटलान्टाका रुस्लान मालिनोभ्स्कीले गोल गर्दा युभेन्ट्सका डानिलोले बराबरी गोल फर्काउनुभयो । बराबरीसँगै युभेन्ट्स २५ खेलबाट ४६ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । एक खेल कम खेलेको एटलान्टा ४४ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा सस्सुलो र रोमाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रोमाका ट्याम्मी अब्राहम र ब्रायन क्रिस्टान्टेले गोल गर्दा सस्सुलोका हामेद ट्राओरेले एक गोल उपहार पाएको थियो । बराबरीसँगै रोमा २५ खेलबाट ४० अंक जोडेर सातौँ स्थानमा रहेको छ । सस्सुलो ३० अंक जोडेर १२औँ स्थानमा रहेको छ ।
यता बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा युनियन बर्लिनमाथि ३-० को सहज जित निकालेको छ । डर्टमुन्डको जितमा कप्तान रिउसले दुई तथा राफयल गुरेइरोले एक गोल गर्नुभयो । खेलको १८औँ मिनेटमा कप्तान मार्काे रिउसको गोलमा डर्टमुन्डले अग्रता लियो ।
२५औँ मिनेटमा कप्तान रिउसले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ७१औँ मिनेटमा राफयल गुरेइरोले गोल गर्दै डर्टमुन्डलाई जित दिलाउनुभयो । यो जितसँगै डर्टमुन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी ६ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको डर्टमुन्डको २२ खेलबाट ४६ अंक रहेको छ । समान खेलबाट शीर्ष स्थानको बायर्नको ५२ अंक छ । पराजित बर्लिन ३४ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।




















