काठमाडौं:= सर्वप्रिय गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत ‘तिम्ले बोल्ने बोली’ एक कार्यक्रमबीच आइतबार सार्वजनिक गरिएको छ । ‘प्रणय दिवस’ को छेको पारेर सार्वजनिक गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ‘आकाश’ को शब्द रचना रहेको छ ।
प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गर्नुभएको छ । चलचित्रका निर्देशक समेत रहनु भएका सुव्रत आचार्य निर्देशित म्युजिक भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर र सरिता कठायत असिस्टेन्ट डाइरेक्टरको रूपमा हुनुहुन्छ । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिच्नुभएको हो । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज मोहित मुनाल र मिक्सिङ किशोर थापाले गर्नुभएको छ ।
भिडियो सार्वजनिक कार्यक्रममा गायक रामकृष्ण ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गर्नुभयो । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने बताउँदै उहाले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताउनुभयो । यो गीत उहाँकै नाममा खोलिएको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियोका मोडल आकाश श्रेष्ठले रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताउनुभयो । त्यस्तै, गीतकी मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्युजिक भिडियोभन्दा यसपटक केही फरक गर्न खोजेको बताउनुभयो ।
उहाँले भिडियोलाई ‘भ्यालेनटाइन डे’ सँग जोड्ने गरी तयार गर्नुभएको छ । रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतिमा गीत तयार भएको हो । गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मालगायतको उपस्थिति रहेको थियो ।




















