नेपाल रेल्वेको परीक्षण सञ्चालन, फागुन दोस्रो सातादेखि रेल चल्ने दाबी।

[ पुरन साह ]

जनकपुरधाम:= नेपालको एक मात्र रेल्वे नेपाल रेल्वेको परिक्षण सञ्चालन सुरु भएको छ । आइतवारवाट सुरु भएको परीक्षण सञ्चालन रेल्वेको विधिवत समुद्घाटन सम्म निरन्तर जारी रहने दावी नेपाल रेल्वेको छ । आइतवार पुनः जनकपुरधाममा नेपालले किनेर थन्किएको रेल जनकपुरधामसम्म आइपुग्दा सर्वसाधारणहरुको भिडभाड लागेको छ ।

२०६७ सालदेखि बन्द अवस्थामा रहेको नेपालको एक मात्र रेलसेवा नेपाल रेल्वे जयनगर–जनकपुरधाम सेवा विधिवत कहिलेदेखि चल्ने भन्ने यकिन अझै नभएपनि आइतवारदेखि रेल्वेको परीक्षण निरन्तर रहने गरि आज सुरु गरिएको छ ।

नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले फागुनको दोस्रो साता देखि भारत विहारको जयनगदेखि धनुषाको कुर्थासम्मको सेवा नेपाल रेल्वेले सुरु गर्ने र दुई देशका प्रधानमन्त्री स्तरबाट रेल्वेको समुद्घाटन हुने भएकाले त्यसको ग्यारेन्टी भने आफुले लिन नमिल्ने बताउनु भयो । यद्यपि उहाँले समुदघाटन नभएसम्म दैनिक निरन्तर परीक्षणको काम भने भइरहने बताउनु भयो ।

सश्स्त्र प्रहरी वलका डिआइजी, जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख र जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सवार रहेको नेपाल रेल्वेको पहिलो दिनको परिक्षण सम्पन्न भइरहँदा जनकपुरधाम सहित यस क्षेत्रका जनता भने रेल्वे सञ्चालनको प्रतिक्षा व्यग्र रुपमा गरिरहेका छन्।

रेल्वे बन्द भएपछि सुस्ताएको जनकपुरधामको बजार पुन फस्टाउने र भारतीय सरसमानहरु जनकपुरधाममै सहज उपलब्ध हुने आश गरिएको छ। नेपाल सरकारले किनेर ल्याएको पनि करिव १७ महिना पुग्न लागेपनि चल्न नसकेको नेपाल रेल्वेको परिक्षण सञ्चालनले अव रेल साच्चै चल्ला कि भन्ने आश छ ।