स्पेनिस ला लिगा: रियल रोकिँदा एट्लेटिको विजयी।

म्याड्रिड:= स्पेनिस ला लिगामा शीर्ष टोली रियल म्याड्रिड भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिँदा साबिक विजेता एट्लेटिको म्याड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियललाई गोलरहित बराबरीमा रोक्दै भिल्लारियलले एक÷एक अंक बाँडेको हो । अर्को खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले गेटाफेलाई उसैको मैदानमा ४–३ गोलले स्तब्ध बनायो ।

प्रतिस्पर्धात्मक खेलमा ५७ प्रतिशत बल पोसेसनमा राखे पनि रियलले गोल गर्न सकेन । बलियो रियलविरुद्ध रक्षात्मक खेल खेलेको भिल्लारियलको रणनीति सफल बन्यो । भिल्लारियलका जेरोनिमो रुल्ली ‘म्यान अफ दि म्याच’ हुनुभयो । बराबरीसँगै शीर्ष स्थानमा रहेको रियलको २४ खेलबाट ५४ अंक छ । ३६ अंक बनाएको भिल्लारियल छैटौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० अंक छ ।

यसैगरी एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले दुई तथा म्याथिअस कुन्हा र मारियो हर्माेसोले १–१ गोल गर्नुभयो । गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गर्नुभएको थियो । लुइस स्वारेज नवौँ मिनेटमा पेनाल्टीमा चुक्दा एट्लेटिको निराश बनेको थियो । तर, १९औँ मिनेटमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाउनुभयो । २७औँ मिनेटमा म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाउनुभयो ।

३०औँ मिनेटमा बोर्जा मायोरलले गोल गर्दै गेटाफेलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ३७औँ मिनेटमा इनेस युनालले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ४२औँ मिनेटमा इनेस युनालले पुनः पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै गेटाफेलाई अग्रता दिलाउनुभयो ।

पहिलो हाफको इन्जुरी समयमा एन्जल कोरेआले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा खेललाई ३-३ गोलको बराबरीमा ल्याउनुभयो । ५८औँ मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो । विपक्षी मोउरो एरामवारीलाई फल गरेपछि फिलिपे रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । तर पनि ८९औँ मिनेटमा मारियो हर्माेसोले गोल गर्दै एट्लेटिकोलाई रोचक जित दिलाउनुभयो । एट्लेटिकोका मार्कोस लोरेन्टे ‘म्यान अफ दि म्याच’ हुनुभयो ।

जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले २३ खेलबाट ३९ अंक बनाएको छ । पराजित गेटाफे २५ अंकसहित १५औँ स्थानमा छ । अर्को खेलमा ओसासुनाले रायो भालेकानोलाई ३-० गोलले पराजित गरेको छ । सेल्टा भिगो र काडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

त्यसअघि शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेलाई २-० गोलले हरायो । सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले १-१ गोल गर्नुभयो । पाहुना टोलीलाई खेलभर दबाबमा राखे पनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो ।

त्यसपछि ७५औँ मिनेटमा अतिरिक्त खेलाडी राफा मिरले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाउनुभयो । ६०औँ मिनेटमा जेसस कोरोनाको स्थानमा मैदान प्रवेश गर्नुभएका राफा मिरले एन्थोनी मार्सियालको पासमा गोल गर्नुभएको थियो। ५७ प्रतिशत बल पोसेसनमा राखेको सेभियालाई पहिलो हाफमा रोके पनि इल्चे दोस्रो हाफमा निरीह बन्यो । सेभियाका अलेसान्द्रो गोमेज ‘म्यान अफ दि म्याच’ हुनुभयो । जितसँगै सेभियाले २४ खेलबाट ५० अंक बनाएको छ ।