म्यानमारमा ८२१ कैदीलाई आम माफी।

एजेन्सी यांगुन:= म्यानमारमा कारागारमा रहेका ८२१ कैदीलाई आम माफी दिइएको घोषणा गरिएको छ । आम माफी पाएका कैदीमध्ये ८१४ स्वदेशी र सात विदेशी नागरिक छन् ।

उनीहरूलाई हीरक एकता दिवको अवसरमा आम माफी दिने निर्णय सरकारले गरेको अधिकारीले जानकारी दिएका छन् । यसअघि सैन्य सरकारले गत अप्रिलमा पनि लगभग २३ हजार कैदीलाई आममाफी दिएको थियो।

म्यानमारका थप ६ महिनाका लागि भन्दै जनवरी ३१ देखि संकटकालको समयावधि थप गरिएको छ । म्यानमारको सेनाले गत वर्षको फेब्रुअरी १ मा सत्ता कब्जा गर्दै संकटकाल लगाएको थियो । सेनाको कदमका विरुद्धमा देशभित्रका दल तथा लोकतन्त्रवादी र विश्व समुदाय विपक्षमा उभिए पनि सेना पछाडि हटेको छैन।

त्यसअघि भएको निर्वाचनमा धाँधली भएकाले पुनः निर्वाचन गराउनुपर्ने अडानसहित सत्ता कब्जा गरिएको सेनाको भनाइ छ । अन्य पक्ष, विदेशी पर्यवेक्षकले भने निर्वाचन निश्पक्ष र स्वतन्त्ररूपमै भएको भन्दै सेनाको आरोपको खण्डन गरेका छन्।

सेनाले सत्ता कब्जा गरेपछि म्यानमारका जनता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू हजारौं घाइते र गिरफ्तार भएका छन्।