काठमाडौं:= केही दिनअघि सार्वजनिक ‘नोगेन’ बोलको गीत यतिबेला चर्चित बन्दै छ । युट्युबमा पनि ट्रेन्डिङको शिर्षस्थानसँगै शनिबार साँझसम्म २८ लाख पटक हेरिएको छ । प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बुको स्वर रहेको उक्त गीत सार्वजनिक भएसँगै संगीतकार वसन्त सापकोटाले गीतको संगीत चोरी भएको आरोप लगाउनुभएको थियो । यसैबिच ‘नोगेन’का संगीतकार महेश खड्काले पनि संगीत चोरी भएको कुरा ठाडै अस्वीकार गर्नुभएको छ ।
संगीतकार वसन्तले गीतको केही अंश आफूद्वारा संगीतबद्ध गीत सिलसिलामा समावेश ‘सागर सरी चोखो माया’बाट चोरी गरेको आरोप लगाउनुभएको थियो । सोही आरोपको हल्लाले बजार तताएपछि गीतका टिमले सो कुराको स्पष्टीकरणका लागि पत्रकार सम्मेलन गरेको थियो ।
सम्मेलनमा बोल्दै संगीतकार महेशले भन्नुभयो । ‘यदि चोरेको लाग्छ भने उहाँ कानुनी उपचारमा नगएर किन मिडिया बाजी गर्दै हुनुहुन्छ ? उहाँले कुण्ठित मनासयले मेरो सम्मानमा आँच आउने ढंगले अघि बढ्नुभएको छ । चित्त बुझेको छैन भने कानुनी उपचारका बाटा छन्, मिडियामा गएर भन्ने होइन’ उहाँले भन्नुभएको छ । साथै एकले अर्कोलाई दोष देखाएर नेपाली संगीत क्षेत्र कहिँ पनि नपुग्ने बताउँदै खड्काले यो विवादले उल्टै सापकोटालाई हानी गर्ने जिकिर गर्नुभयो ।
‘चोर भनेर आरोप प्रत्यारोप गर्ने हो भने नेपाली संगीत क्षेत्रमा कोही पनि अघि नबढे हुन्छ । यो विवादले स्वयं वसन्त भाइलाई घात गर्छ’ महेशले भन्नुभयो, प्रमोद खरेलले द भ्वाइस किड्सकी प्रतिस्पर्धी बालिका रुक्सना लिम्बूको आवाजमा समावेश गीतको शब्द पनि महेशले नै लेख्नुभएको छ । गीतको भिडियोमा पनि गायक प्रमोद र बाल गायिका रुक्सानाको अभिनय छ । भिडियोमा मिनाक्षी कोइरालाको निर्देशन छ ।




















