ओमानमा जारी चारदेशीय टी-२० क्रिकेट शृंखलामा नेपालको विजयी सुरुवात।

काठमाडौं:= ओमानमा जारी चारदेशीय टी-२० क्रिकेट शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । दीपेन्द्रसिंह ऐरीको अर्धशतक पारी खेलेपछि ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९. ३ ओभरमा चार विकेट गुमाएर भेटाएको थियो ।

नेपालका लागि दीपेन्द्रले ५३ बलमा आठ चौका र एक छक्कासहित ७३ रनको नटआउट अर्धशतकीय इनिङ्स खेल्नुभयो । अन्तिम ओभरमा नेपाललाई नौ रन चाहिएका बेला मोहम्मद नादिमलाई दुई चौका र दुई रन लिएर दीपेन्द्रले विजयी रन जोड्नभएको थियो ।

यस्तै नेपालका लागि आरिफ सेखले २५ रन जोड्नुभयो । उहाँले २० बलमा तीन चौका प्रहार गर्नुभएको थियो । आसिफ सेख १४, ज्ञानेन्द्र मल्ल १३ र प्रदीप ऐरी चार रन थप्नुभएको थियो । ओमानका केलीमुल्लाहले चार ओभमा २४ रन खर्चिँदै दुई विकेट तथा खावर खानले चार ओभरमा ३१ रन खर्चिएर एक विकेट लिनुभयो ।

त्यसअघि अलअमेरित क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । ओमानका कप्तान जसम मक्सुदले ४१ बलमा चार चौका र एक छक्कासहित ४३ रनको नटआउट पारी खेल्नुभयो । यस्तै मोहम्मद नदिमले ३१ रन थप्नुभयो । उहाँले ३० बलमा दुई चौका प्रहार गर्नुभएको थियो ।

त्यसबाहेक जितिन्द सिंहले १३ तथा कश्यप प्रजापति, सोहब खान र आयान खानले समान ११/११ रन जोड्नुभयो । छैटौं ओभरमा सुरुवाती तीन विकेट लिएर नेपालले ओमानमाथि दबाब कायम गरेको थियो । तर, पाँचौं विकेटका लागि कप्तान जिसम र नादिमले ६१ रनको साझेदारी गर्दै ओमानी पारी अघि बढाउनुभएको थियो ।

अविनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा कश्यप प्रजापतिलाई आउट पार्दै नेपाललाई पहिलो सफलता दिलाउनुभएको थियो । चौथो ओभरको पहिलो बलमै आरिफ सेखले अर्का ओपनर जितिन्दर सिंहलाई विकेटकिपर आसिफ सेखको हातबाट क्याच गराउनुभयो ।

छैटौं ओभरको तेस्रो बलमा कमलसिंह ऐरीले आयान खानलाई ११ रनमा आउट पारेपछि नेपाल खेलमा हाबी भएको थियो । १०औं ओभरको तेस्रो बलमा कप्तान लामिछानेले सोयब खानलाई ११ रनमा विकेट किपर आसिफको हातबाट क्याच गराएपछि जिसम र नादिमले ओमानी पारी अघि बढाउनुभएको थियो ।

१८औं ओभरमा अविनाश बोहराले दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काउनुभयो । उहाँले चौथो बलमा ३१ रनमा खेलिरहेका मोहम्मद नादिमलाई शरद भेषावकरको हातबाट क्याच गराउनुभयो । यस्तै लगत्तै क्रिजमा आएका नासिम खुशीलाई सोही ओभरको अन्तिम बलमा शून्य रनमै अविनाशले पवेलिएन फर्काए ।

नेपालका अविनाश बोहराले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै कमलसिंह ऐरी, आरिफ सेख, सन्दीप लामिछानेले समान एक/एक विकेट लिनुभयो ।

नेपाली टोलीबाट दुई खेलाडीले डेब्यु गर्नुभएको थियो । अलराउण्डर विवेक यादव र स्पिनर सागर ढकालले डेब्यू गर्नुभएको हो । घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएपछि आक्रामक विवेक यादवलाई यसपल्ट प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा बोलाउनुभएको थियो ।

यस्तै घरेलु टोलीमा राम्रो प्रदर्शन गर्दै आएका सागर ढकाललाई बन्द प्रशिक्षणको बीचमा बोलाउँदै प्रशिक्षक दासानायकेले ओमान भ्रमणमा लग्नुभएको थियो । दुबै खेलाडीले यसअघि यु-१९ राष्ट्रिय टोलीबाट खेलिसक्नुभएको थियो । यसै खेलबाट सन्दीप लामिछानेले पहिलोपल्ट नेपाली टोलीको कप्तानी सम्हाल्नुभयो । उहाँ नेपाली टोली सम्हाल्ने ११औं कप्तानसमेत बन्नुभएको छ ।

नेपालले चारदेशीय शृंखलाको अर्को खेलमा शनिबार यूएईको सामना गर्नेछ । नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप यो शृंखला खेलेको हो । यसै शृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेट्दै ग्लोबल छनोटका लागि अन्तिम १४ सदस्यीय टोली घोषणा हुनेछ ।