काठमाडौं:= बाराकी रुवी शाह १० हजार डलर बराबरको जोन्टा इन्टरनेसनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित हुनुभएको छ । उहाँलाई जोन्टा क्लब अफ काठमाडौं २५, क्षेत्र नम्बर २ बाट मनोनयन गर्दै पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो, जहाँ शाहले थप दुई हजार डलर पनि प्राप्त गर्नुभएको थियो ।
शाहसँगै ३२ जनाले दुई हजार डलर बराबरको थप छात्रवृत्ति प्राप्त गरेको जोन्टाले जनाएको छ । यसका साथै उहाँले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप आठ हजार डलर पनि प्राप्त गर्नुभएको बताइएको छ । शाह शैक्षिक सत्र २०२१-२०२२ का लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ क्षमतावान प्रतिभामध्ये एक रहेको जोन्टाले जनाएको छ ।
उहाँ वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । १९ वर्षदेखि नै रुवीले विभिन्न विधामा व्यवसाय इन्क्युबेसन, कन्टेन्ट क्रियसन, मार्केटिङ र परामर्श सेवाजस्ता धेरै स्टार्टअपसँग काम गर्दै आउनुभएको छ । शाह उद्यमी नेपालीको पूर्वप्रमुख अपरेटिङ अफिसर हुनुहुन्छ । जहाँ उहाँले कम्पनीका कर्मचारीलाई मार्गदर्शन गर्ने र उद्यमीका लागि आवश्यक सामग्रीहरू बनाउनेदेखि लिएर कार्यक्रम संयोजन गर्ने विषयमा रणनीति बनाउनुभयो ।
हाल कीर्तिपुरको रोटर्याक्ट क्लबको चार्टर प्रेजिडेन्टका रूपमा नेतृत्व गर्दै आउनुभएको छ । जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सीमा गोल्छाले भन्नुभयो, ‘हामीलाई थाहा छ कि उनी व्यवसाय अध्ययन गर्न र महिलालाई सशक्तीकरण क्षेत्रमा नेतृत्व लिन चाहने धेरै किशोरीका लागि उत्कृष्ट रोल मोडल हुनेछिन् । उनलाई उच्च शिक्षाका लागि शुभकामना र छात्रवृत्तिका लागि बधाई छ ।




















