काठमाडौं:= गायिका अञ्जु पन्तले पछिल्लो समय विवादमा रहेको ‘नबिर्से तिमीलाई न पाएँ तिमीलाई’ गीतको विषयमा आफ्नो धारणा राख्नुभएको छ । पन्तले गीतकार विपिन किरणले आफूसँग सल्लाह नगरी उक्त गीतको नयाँ भर्सन सार्वजनिक गरेको बताउनुभएको छ । उता विपिन किरणले भने आफूले अञ्जुसँग अनुमति लिएर नै गीत रचना रिमाललाई गाउन लगाएको बताउनुभएको थियो ।
विपीन किरणले यो गीत रेकर्ड गराउनुअघि गायिका अञ्जु पन्तलाई खबर गरेको र यसमा उहाँको कुनै आपत्ति नभएको दाबी गर्नुभएको थियो तर, बुधबार अञ्जुले रचनाले गाउनेबारे आफूसँग सल्लाह नै नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नै स्वरमा पुनःरेकर्ड गराउनेबारे भन्ने सल्लाह भएको जानकारी दिनुभएको छ ।
गायिका पन्तले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘केही समयअघि विपिन किरण भाइले यो गजल नयाँ एरेन्जमा मेरो आवाजमा नै रि-रेकर्ड गर्ने भन्नुभएको थियो । र, सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनुभएको थियो । हामी समयानुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौं ।’ यस्तै अञ्जुले गीतकार किरणले आफूसँग किड्स भर्सन गाउन भाइ-बहिनीलाई दिने सल्लाह आफूसँग गरेको र त्यो विषयमा आफूले खुशीसाथ हुन्छ भनेको बताउनुभएको छ ।
पछिल्लो समय ओर्जिनल स्रष्टालाई छायामा पार्दै क्रेडिटसम्म नदिने गरेको उनले गुनासो गर्नुभएको छ । ‘उही संगीत, उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओर्जिनल गायकगायिकाको नामसमेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाहिँ दुःखद् र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो । मलाई थाहा भएन । म एक व्यक्तिको कुराभन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ ।’
उहाँले युट्युबमा आएपछिमात्रै गीतको नयाँ भर्सन आएको जानकारी पाएको बताउनुभएको छ । विपिन किरणको शब्द, महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज, शम्भु तन्डुकारको रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गरेको यो गजलमा अञ्जुले झण्डै डेढदशक अघि आवाज भर्नुभएको थियो ।




















