शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रविको दुई गोलमा पुलिसको जित।

काठमाडौं:= रविशंकर पासवानको दुई गोल मद्दतमा नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित हात पारेको छ । पुलिसले बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबलाई दुई/एक गोलअन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा दुवै गोल रविशंकरले गर्दा च्यासलका मोउसा एवांगाले एक गोल फर्काउनुभएको थियो । खेलको ३७औँ मिनेटमा रविले निरकुमार राईको पासमा गोल गर्दै पुलिसलाई १-० को अग्रता दिलाउनुभएको थियो ।

५३औँ मिनेटमा मोउसा एवांगाले पेनाल्टीमा गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभयो । रुमेश बर्तौलालाई पेनाल्टी बक्सभित्र पुलिसका खेलाडीले फल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो । जसमा मोउसाले गोल गर्नुभयो ।

६९औँ मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई दुई/एकले अघि बढाउनुभयो । सुमन लामाको पासमा रविले गोल गर्नुभएको हो । ८२औँ मिनेटमा कमल श्रेष्ठको कर्नरमा अभिषेक लिम्बूको हेडर क्रसबारमा लागेर फर्किएपछि च्यासलले बराबरीको मौका गुमाएको थियो ।

जितपछि पुलिस नौ खेलबाट १० अंक जोडेर १०औँ स्थानमा उक्लिएको छ । समान १० अंक नै रहे पनि एपिएफ बढी गोलका आधारमा नवौँ स्थानमा रहेको छ । पुलिससँगको हारसँगै च्यासललाई रेलिगेसनको दबाब बढेको छ । नौ खेलबाट पाँच अंक जोडेर च्यासल १३औँ स्थानमा रहेको छ ।

पुलिसले दुई जित, चार बराबरी र तीन हारको नतिजा निकालेको छ । खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराब प्रदर्शन गर्दा नौ खेलमा एक जित, दुई बराबरी र ६ हारको नतिजा निकालेको छ ।