एजेन्सी (नयाँदिल्ली) := नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाइले भारतमा कक्षा कोठामा हिजाव लगाउन पाउने अधिकारका निम्ति आन्दोलन गरिरहेका ६ विद्यार्थीको पक्षमा बोल्नुभएको छ । हिजावमाथिको प्रतिबन्धलाई मलालाले डरलाग्दो भन्नुभएको छ ।
‘हिजाव लगाएर छात्राहरूलाई विद्यालय जान अनुमति नदिनु डरलाग्दो हो,’ २४ वर्षीया मलालाले ट्विटमार्फत भन्नुभयो । मलालाले मुस्लिम महिलाहरूको सीमान्तकरण रोक्न भारतीय नेताहरूलाई आहृवानसमेत गर्नुभएको छ ।
कलेजमा हिजावमा प्रतिबन्धको विरोधमा कर्नाटक राज्यमा किशोरीले केही सातादेखि आन्दोलन गरिरहेका छन् । हिजाव विवादले राज्यभित्र धार्मिक तनाव बढेको छ । विरोधपछि विभिन्न स्थानमा भएका झडपपछि तीन दिन विद्यालय र कलेज बन्द भएका थिए । सो विवाद भारतका राष्ट्रिय पत्रपत्रिकाको मुख्य शीषर्क बनेको थियो । विवाद राज्यको उच्च न्यायालयसम्म पुगेको छ ।
हिजाव लगाउनु भारतको संविधानले सुनिश्चित गरेको धर्मसम्बन्धी आधारभूत अधिकार भएको तर्क गर्दै एक विद्यार्थीको तर्फबाट अदालतमा मुद्दा दायर भएको छ । एउटा माध्यामिक विद्यालयको व्यवस्थापनले कक्षा कोठामा हिजाव लगाउन प्रतिबन्ध लगाएपछि किशोरीहरू त्यसको विरोधमा प्रदर्शन सुरु गरेका थिए । बालिकाहरूको शिक्षाका पक्षमा वकालत गरेको भन्दै सन् २०१२ मा पाकिस्तानका तालिवानले मलालालाई गोली हानेर गम्भीर घाइते बनाएका थिए ।




















