इजिप्टलाई हराउँदै सेनेगल बने अफ्रिका कप अफ नेसन्सको च्याम्पियन।

लन्डन:= इजिप्टलाई हराउँदै सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ । आइतबार राति भएको फाइनलमा सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले हराउँदै पहिलोपटक च्याम्पियन बनेको हो ।

निर्धारित समयको खेलमा कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गर्नुभयो । उसका बोउना सारले गोल गर्न सक्नुभएन । इजिप्टका जिजो र मारवान हान्डीले मात्रै गोल गर्न सक्नुभयो । मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिनले गोल गर्न नसकेपछि सेनेगल च्याम्पियन बन्यो ।

त्यसअघि खेलको सातौँ मिनेटमा साडियो माने पेनाल्टीमा  चुक्दा सेनेगलले अग्रता लिन सकेन । सालिओउ सिसलाई पेनाल्टी बक्समा मोहम्मद एब्डेलमोनेमले फउल गरेपछि सेनेगलले पेनाल्टी पाएको थियो । तर, मानेको प्रहार इजिप्टका गोलरक्षक मोहम्मद एवाउगवालले बचाउनुभयो ।

पहिलोपल्ट उपाधि जितेको सेनेगल यसअघि दुईपल्ट फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित रहेको थियो । सन् २००२ मा क्यामरुनसँग टाइब्रेकरमा ३-२ ले पराजित भएको सेनेगल सन् २०१९ मा अल्जेरियासँग १-० ले पराजित हुँदै उपाधिबाट टाढा रहृयो ।

आठौँपल्ट च्याम्पियन बन्ने होडमा रहेको मोहम्मद सलाको टोली इजिप्टको भने सपना अधुरै रहृयो । इजिप्टले १० पटक फाइनल खेल्दा सातपटक उपाधि जितेको छ । सन् १९५७, १९५९, १९८६, १९९८, २००६, २००८ र २०१० मा इजिप्टले उपाधि जितेको थियो ।