
क्वालालम्पुर (केलाङ):= मलेसियाको सेलाङ्गोर राज्यस्थित दुईवटा “म्यानुग्याक्चरिङ कम्पनी” कारखानामा गरिएको विशेष अध्यागमन कारबाहीका क्रममा २७० जना अवैध विदेशी कामदार पक्राउ परेका छन्।
सेलाङ्गोर अध्यागमन विभागका उपनिर्देशक (नियन्त्रण) मोह्मद खुसेरी कमारुदिनका अनुसार शाह आलमस्थित प्लास्टिक सामग्री उत्पादन गर्ने कारखाना र क्लाङस्थित फर्निचर उत्पादन गर्ने कारखानामा ‘अप्स मेगा’ (Ops MEGA) सञ्चालन गरिएको थियो।
बुधबार बिहान ८ बजेदेखि सञ्चालन गरिएको उक्त कारबाहीमा अध्यागमन विभाग, कर्मचारी भविष्य निधि (EPF) तथा घरेलु व्यापार तथा जीवनयापन लागत मन्त्रालयका गरी ५० जना अधिकारी सहभागी थिए। कारबाहीका क्रममा कुल ५८६ जना विदेशी नागरिकको कागजात जाँच गरिएको थियो।
जाँचपछि १८ देखि ५० वर्ष उमेर समूहका २७० जना पुरुष विदेशी कामदारलाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये १८ जना शाह आलमस्थित कारखानाबाट र बाँकी २५२ जना क्लाङस्थित कारखानाबाट पक्राउ परेका थिए। पक्राउ पर्नेहरूमा बंगलादेशका १९१, नेपालका ३४, पाकिस्तानका ३९, म्यानमारका ५ तथा श्रीलंकाका १ जना नागरिक रहेका छन्।

अध्यागमन विभागका अनुसार उनीहरू भिसाको अवधि सकिएपछि पनि बसोबास गरिरहेको वा अध्यागमन पासको दुरुपयोग गरेको अवस्थामा भेटिएका थिए। मोह्मद खुसेरीले कारबाहीअघि दुईदेखि तीन सातासम्म गोप्य सूचनाको आधारमा अनुसन्धान गरिएको जानकारी दिए। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सेमेन्यिह अध्यागमन डिपोमा राखिएको छ।
उनले रोजगारदाताहरूलाई विदेशी कामदार भर्ना गर्दा कानुनी प्रक्रिया पालना गर्न तथा अस्थायी रोजगार पास (PLKS) सही र तोकिएको कार्यस्थलमै प्रयोग भएको सुनिश्चित गर्न आग्रह गरे। “यदि कुनै उल्लङ्घन भेटिएमा कडा कारबाही गरिनेछ। यस्तो कारबाही कारखानामा मात्र सीमित रहने छैन,” उनले चेतावनी दिए।



















