‘शक्ति केन्द्रका कारण गैर आवासीय नेपाली संघ(एनआरएनए)को छविमा धक्का’

काठमाडौं:= गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन अब नरोकिने अध्यक्षका प्रत्यासी डा. बद्री केसीले दाबी गर्नुभएको छ । महाधिवेशन प्रतिनिधिका विषयमा एनसिसीमा देखिएको असन्तुष्टिले केही अवस्था सिर्जना भए पनि परिस्थतिलाई सहज बनाउन असन्तुष्टिसमेत सम्बोधन भइसकेको भन्दै उहाँले अब महाधिवेशन रोक्नुको कुनै औचित्य नरहेको बताउनुभयो । आइतबार भर्चुअलरूपमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्षका प्रत्यासी केसीले भन्नुभयो, ‘यहाँ म स्मरण गराउन चाहन्छु कि संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक-पटक समस्या समाधानका लागि पहल भएका छन् । आफूहरूको प्रयास विधि, विधानसम्मत रहेको ठहर पाटन उच्च अदालतले समेत गरिसकेको र त्यसपछि पनि संघका अध्यक्ष कुमार पन्तद्वारा गठित पाँचसदस्यीय समितिले जनवरीको पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी सातबुँदे सहमति गरेको उहाँको जिकिर छ  ।

तथापि निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झुठा र आधारहीन आरोप लगाई निर्वाचनमा उम्मेद्वारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय राखेकोमा उहाँले गुनासो गर्नुभयो । केसीले भन्नुभयो, ‘संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन फेबु्रअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै स्पष्ट आधार देखिँदैन ।’

निर्वाचनमा भएको ढिलाइले विश्वभरका ३६ सयभन्दा बढी गैरआवासीय नेपालीको मतदानको अधिकार खोसिनुका साथै गैरआवासीय नेपाली संघको छविमा समेत धक्का लागेको उहाँले बताउनुभयो । त्यसैले संघलाई वैधानिकरूपमा अघि बढाउन पनि निर्वाचनको विकल्प नभएको भन्दै उहाँले निर्वाचन सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशनको मागसमेत गर्नुभएको छ ।