सेयर बजारमा सुधार।

काठमाडौं:= यो साता सेयर बजार उतारचढावपूर्ण रह्यो । गत साता दुई खर्ब १३ अर्ब ९० करोड रुपैयाँले घटेको लगानीकर्ताको सम्पत्ति यो साता भने एक खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५.५३  अंकमा पुगेको थियो भने बिहीबार घटेर २८७६.७५ अंकमा झरेको थियो ।

सो दिन दुई सय ३१ कम्पनीका एक करोड २१ लाख ५५ हजार कित्ता सेयर छ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबारको नेप्से १३ अंकभन्दा बढीले घटेर २८७२.०५ अंकमा झरेको थियो । सो दिन दुई सय २५ कम्पनीका एक करोड एक लाख पाँच हजार कित्ता सेयर पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने नेप्से १९.२९ अंकले बढेर २८९१.३४ अंकमा पुगेको थियो । सो दिन दुई सय २३ कम्पनीका एक करोड २१ लाख ६७ हजार छ सय पाँच कित्ता सेयर छ अर्ब ५७ करोड ४८ लाख ४२ हजार चार सय १८ रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम दिन बिहीबार नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ अंकमा झरेको थियो भने सेन्सेटिभ सूचक ३.२६ अंक, फ्लोट इन्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१ अंकले घटेको थियो । सो दिन दुई सय २४ कम्पनीका एक करोड ५७ लाख ८० हजार सात सय १३ कित्ता सेयर आठ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रुपैयाँमा कारोबार भएको थियो ।

साताभरमा धेरै कारोबार हुनेमा अपि पावर, नेपाल टेलिकम, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था, नेसनल हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्सलगायत रहेका छन् ।