राप्रपाको आन्तरिक कलह पेचिलो बन्दै, पार्टी फुट्न सक्ने ?

काठमाडौं:= राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकता महाधिवेशनदेखि सुरु भएको आन्तरिक कलह थप पेचिलो बन्दै गएको छ । निवर्तमान अध्यक्ष कमल थापाले उठाउँदै आएका विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनले वास्ता नगरेपछि कलह थप पेचिलो बन्दै गएको हो । गत १५-१८ मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको थियो । आफ्नो पराजयलाई ‘अस्वाभाविक’ ठान्नुभएका थापाले बाह्य शक्ति (राजसंस्था)को हस्तक्षेपको विषय उठाउँदै आउनुभएको छ ।

आफू पराजित भएपछि थापाले ‘पूर्व-राजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आउनुभएको छ । निर्मलनिवासको हस्तक्षेपका कारण आफू महाधिवेशनमा पराजित भएको दाबी गर्दै आउनुभएका थापाले हस्तक्षेपबारे छानबिन गर्नुपर्ने माग राख्दै आउनुभएको छ ।

तर, अध्यक्ष लिङ्देनले भने अहिलेसम्म थापाले माग गरेको विषयमा सुनुवाइ गर्नुभएको छैन । थापाले यसबारे दुईपटक अध्यक्ष लिङ्देनको ध्यानाकर्षणसमेत गराइसक्नु भएको छ । मंसिर २७ मा पहिलो पत्र लेख्नुभएका थापाले माघ १६ गते दोस्रो पत्र लेखेर ध्यानाकर्षण गराउनुभयो । दुई÷दुईपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि थापाको असन्तुष्टि बढ्दै गएको छ ।

कमल थापाले उठाएका विषयमा पार्टीमा छलफल हुँदैन : महामन्त्री राणा

निवर्तमान अध्यक्ष थापाले उठाउँदै आएको विषय पार्टीमा छलफल नै हुन नसक्ने संस्थापन पक्षका नेताहरू बताउँछन् । लिङ्देनले थापाको मागलाई केन्द्रीय कार्यसमितिमा छलफलको एजेण्डा अझै बनाउनुभएको छैन । महामन्त्री धवलशमशेर राणाले निवर्तमान अध्यक्ष कमल थापाले उठाएका विषयमा पार्टीमा छलफल हुन नसक्ने बताउनुभयो ।

थापाले महाधिवेशनमा आफू पराजित भएपछि अरूलाई दोष लगाउन मात्र खोजेको उहाँले बताउनुभयो । थापाले लगाएको आरोप गलत भएको उहाँको भनाइ छ । ‘उहाँ (थापा)ले भनेको विषयमा पार्टीमा छलफल हुँदैन । हुनै सक्दैन,’ राणाले भन्नुभयो, ‘जुन संस्थाले यहाँ पु¥यायो । अहिले आएर त्यही संस्थाले डुबायो भन्न मिल्छ ? उहाँले भनेको जस्तै भएको भए त अरूले पनि हार्थे होलान् । अरूले त जिते । केवल उहाँ (थापा) हार्नुभयो । हारेपछि कसै न कसैलाई दोष लगाउनुभएको हो ।’

अध्यक्ष उदासीन देखिनु दुर्भाग्यपूर्ण : बर्तौला

थापा समूहले पार्टीमा उठेका विषयमा गम्भीरतापूर्वक छलफल हुनुपर्ने अडान राख्दै आएको छ । अझै पनि थापा समूह आफूले उठाएको विषयमा पाटीृमा छलफल हुने विश्वासमै छ । त्यसका लागि अध्यक्ष लिङ्देन गम्भीर बन्नुपर्ने थापा समूहका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताउनुभयो । ‘पार्टीभित्र उठेका विषय चाँडै सम्बोधन गर्नुपर्छ ।

छलफल गरेर किनारा लगाउनुपर्छ,’ बर्तौलाले हिमालय टाइम्ससँग भन्नुभयो, ‘बल निर्वाचित अध्यक्षको कोर्टमा छ । विषय उठिसकेपछि एउटा प्रजातान्त्रिक पार्टीमा छलफल गरेर त्यसलाई विधिसम्बत् किनारा लगाउनुपर्ने जिम्मेवारी उहाँ (अध्यक्ष)कै हो । उहाँले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

तर, अध्यक्ष लिङ्देन थापाले उठाएका विषयमा उदासीन देखिएको उहाँले आरोप लगाउनुभयो । पार्टीभित्रै उठेका विषयमा छलफल नगरिनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । उठेका विषयमा छानबिन नभए स्वाभाविक रूपमा आफूहरू विकल्प खोज्न बाध्य हुने र त्यसको जिम्मेवारी अध्यक्षले लिनुपर्ने उहाँको भनाइ छ । ‘पार्टीभित्रको समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढ्नुपर्ने हो ।

तर, विडम्बना अध्यक्ष यसमा उदासीन देखिनुभएको छ । यो दुर्भाग्यपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘पार्र्टी विभाजन गर्ने कुनै किसिमको भूमिका निर्भाह कसैले गर्नुभएको छैन । एकताबद्ध बनाएर लैजाने कुरामा सबै सहमत हो । एकांकी ढंगबाट अगाडि बढिरहेको परिस्थतिमा विकल्पको विषयमा सोच्नुपर्ने बाध्यता रहन्छ ।

तर, त्यो दिशातर्फ जाने वातावरण नेतृत्वबाट बन्यो भने त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ । सबै विकल्पमा छलफल भइरहेको छ । पार्टीभित्रै रहेर योगदान दिने सबैको मनशाय छ । तर, त्यो मनशायलाई कमजोरीको रूपमा लिने प्रयास हुँदा त्यसले दुःखदायी परिणाम आउँछ भन्ने हाम्रो ठहर हो ।’