५० लागिन् करिश्मा, यस्तो छ उनको संघर्ष।

काठमाडौं:= नेपाली फिल्म क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरको आज शुक्रबार जन्मदिन परेको छ । उनी आजबाट ५० बर्ष लागेकी छिन् । नेपाली फिल्म क्षेत्रका केही अभिनेत्री आफ्नो जन्मदिन भव्य रुपमा मनाउँदै आएका छन् । उनी भने जन्मदिन खासै मनाउने नगरेको बताउँछिन् । आज परेको जन्मदिनमा पनि उनको विशेष योजना केही रहेको छैन । उनी अहिले उपत्यका बाहिर छिन् ।

‘अघिल्ला बर्षका जन्मदिन पनि सेलि ब्रेसन नगरेकोले यो बर्ष पनि केही योजना छैन’ करिश्माले बताइन् । कहिले राजनीति, त कहिले अध्ययन कारणले बेला बेलामा चर्चामा छाउने करिश्मा अहिले भने राजनीति बाट टाढा छिन् । पछिल्लो समय व्यवसायमा समेत आवद्ध उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी छन् । आउँदो नयाँ वर्षभित्र आत्मकथा ल्याउने उनको योजना रहेको छ ।

विगत ४ बर्षदेखि ‘आत्मकथा’का लागि तयारी गर्दै आएकी करिश्माले पुस्तकमा आफूले अभिनयमा बिताएका, अभिनय क्रममा महसुस गरेका र सोचेका विभिन्न विषयवस्तुहरु समेट्न लागेकी छन्। आफ्नो जीवनका उतारचढाव समेत किताबमा समेटिने उनको भनाई रहेको छ । १४ वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट अभिनय करिअर सुरु गरेकी मानन्धरले तीन दशक बढी समय नेपाली कला क्षेत्रमा बिताइसकेकी छन् ।

केही भारतीय फिल्ममा समेत काम गर्न सफल उनी एक समयकी सफल अभिनेत्री हुन्।नेपाली फिल्म क्षेत्रमा सदावहार अभिनेत्रीको रुपमा परिचित उनी अहिले पनि अभिनयमा क्रियाशील छिन्। अभिनय मार्फत हरेक नेपालीको ढुकढुकी बन्न सफल उनका कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म छन् ।

करिव एक दशक अमेरिकामा समेत बिताएकी मानन्धरको पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा निर्माता र अभिनेत्रीको परिचय बनेको छ । उनी केही अगाडि बन्द भएको कमेडी रियालिटी शो ‘मुन्द्रे कमेडी क्लब’ मा अध्यक्षको रुपमा समेत रहेकी थिइन् ।