साओपाओलो/सिन्हृवा:= ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा २८ जना पुगेको अधिकारीले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीले जनाएका छन् । उनीहरूका अनुसार ब्राजिलमा गत केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीले हराइरहेका तीनजना व्यक्तिको बुधबार शव भेटिएको थियो ।
प्राप्त समाचार अनुसार करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बढीका कारण विस्थापित भएको बताइएको छ । बाढीका कारण यहाँका कैयौं क्षेत्रमा असर परिरहेको छ । यहाँका केही शहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाले छ दिनयतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।
यहाँका अधिकारीले केही स्थानमा सैनिक हेलिकोप्टरहरूले उद्दार गरिरहेको बताएका छन् । केही सहायता सामग्री हेलिकोप्टरले पुर्याइरहेका बताइएको छ । उद्दारमा खटिएका अधिकारीले अरू सातजना व्यक्ति हराइरहेको बताएका छन् । यहाँका मौसमविद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरूले वर्षा र आँधीको सम्भावना रहेको बताएका छन् । ब्राजिलको साओपाओलो राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।




















