सिड्नी:= भारत यू-१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजमा प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा अस्ट्रेलियालाई ९६ रनले हराउँदै भारतले आठौँपटक यू–१९ विश्वकपको फाइनलमा स्थान बनाएको हो । अब भारतले उपाधिका लागि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । इंग्ल्यान्ड यसअघि नै फाइनलमा पुगिसकेको छ ।
भारतले दिएको २९१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१.५ ओभरमा १९४ रनमा अलआउट भयो । अस्ट्रेलियाका लचलान शाले ६६ बलमा चार चौकासहित सर्वाधिक ५१ रन बनाउनुभयो । यस्तै कोरे मिलरले ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम हृटनीले १९ रन थप्नुभयो । भारतका विक्की ओस्टलले तीन तथा निशान्त सिन्धु र रवि कुमारले दुई/दुई विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९० रन बनाएको थियो । भारतका कप्तान यश धुलले ११० बलमा १० चौका र एक छक्कासहित ११० रनको शतकीय इनिङ खेल्नुभयो । यस्तै शेख रशिदले १०८ बलमा आठ चौका र एक छक्कासहित ९४ रन थप्नुभएपछि भारतले मजबुद स्कोर बनाएको थियो ।
भारतलाई तेस्रो विकेटका लागि शेख रशिद र यश धुलले २०४ रनको साझेदारी गर्दै अघि बढाउनुभएको थियो । यस्तै भारतका विकेट किपर दिनेश बनाले चार बलमा दुई चौका र दुई छक्कासहित २० रन थप्नुभयो । अस्ट्रेलियाका ज्याक निस्वेट र विलियम साल्जम्यानले दुई/दुई विकेट लिनुभयो । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्ड दोस्रो र भारत पाँचौँपटक उपाधि जित्ने होडमा छन् ।




















