मुम्बई:= भारतीय र्यापर हनी सिंहको अदालती मुद्दा र प्रहरीसँग पुरानो सम्बन्ध छ । कहिले घरेलु हिंसा मुद्दा त कहिले अश्लील गीत गाएको आरोपमा उहाँ प्रहरी नियन्त्रणमा परिरहनुहुन्छ । हालैमात्र पनि महाराष्ट्रको नागपुरस्थित जिल्ला अदालतले गायक हनीलाई ‘भ्वाइस स्याम्पल’ दिन भनेको छ ।
अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो । हनीमाथि गीतका माध्यमबाट अश्लीलता फैलाएको आरोप लागेको छ । जिल्ला र अतिरिक्त सत्र न्यायाधीश एसएएसएम अलीले २७ जनवरीमा हनीलाई ४ देखि ११ फेब्रुवरीसम्म नागपुरको पंचपौली प्रहरी थानामा हाजिर हुन आदेश दिनुभएको थियो । अदालतले हनीद्वारा दर्ता गराएको एक निवेदनमा सुनुवाइ गर्दै यो आदेश दिएको हो । हनीले आफूमाथि विदेश यात्रामा लगाइएको सर्तमा पनि कटौतीको माग गर्नुभएको थियो ।
अदालतले हनीलाई २९ जनवरीदेखि ४ फेब्रुवरीसम्म दुवईको यात्रा गर्न अनुमति दिँदै ४ फेब्रुवरीदेखि ११ फेब्रुवरीबीच प्रहरी थानामा हाजिर हुन भनेको छ । हनीको आवेदनप्रति अनुसन्धान अधिकारीले विरोध गर्दै गायक २५ जनवरीमा प्रहरी थानामा उपस्थित हुनुपर्नेमा त्यहाँ नआएकोमा आपत्ति जनाएका थिए ।
अनुसन्धान अधिकारीले गायकले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन् । पंचपौली प्रहरीले आनन्दपाल सिंह जब्बलको उजुरीका आधारमा गायकविरुद्ध धारा २९२ (अश्लील सामग्री बिक्री, वितरण) र आइपीसी तथा सूचना प्रौद्योगिकी अधिनियमको अन्य सम्बन्धित प्रावधानअनुसार उजुरी दर्ता गराएको थियो ।




















